मङ्पु : मङपुको सन्त मंगल एकाडेमीले स्कुलले २५औँ वर्ष पुगेको अवसरमा रजत जयन्ती समारोह पालन गऱ्यो। आज यसै अवसरमा स्थानीय जन मैदानमा सातौँ वार्षिक खेलकुद प्रतियोगिताको पनि आयोजना गऱ्यो। उक्त प्रतियोगिता अजय छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगितामा शुरूआतमा सन्तमंगल विद्यालयका विद्यार्थीहरूले मार्च पास ड्रील गरे भने परेडको सलामी समारोहका प्रमुख अतिथि एसआई विजय थामी लिए। विद्यार्थीहरूमाझ बिस्कुट खाएर कुद्ने, केरा खाएर कुदने, बन खाएर कुदने, थाल बोकेर कुद्ने प्रतियोगितामा विजयी बनेका प्रतियोगीहरूलाई समारोहका सभापति अजय छेत्री अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट पारितोषिक प्रदान गरियो।

सन्तमंगल विद्यालयको चारवटा दलहरू क्रमैले सयपत्री (रातो दल), मखमली (निलो दल), अजम्बरी (हरियो दल) र गोदावरी (पहेलो दल) माझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भयो भने विजयी दललाई टिकाराम गुरुङ स्मृति पुरष्कार प्रदान गरियो। यसैगरी २०० मिटर दौडमा विजय हुने धावकहरूलाई खुश्मान राई स्मृति पुरस्कार प्रदान गरियो। उक्त विद्यालयका प्राचार्य मन्जीत थापाले स्वागत सम्भाषाण राखेको खेलकुद समारोहमा प्रमुख अतिथि मङपु आउटपोस्ट थाना प्रभारी बिजय थामीले सन्तमंगल विद्यालयले शिक्षा क्षेत्रसँगै खेलकुदमा पनि विद्यार्थीहरूलाई अघि बढाउँदै वार्षिक खेलकुदको आयोजना गरेकोमा विद्यालय परिवारलाई बधाई साथै शुभकामना दिए। आजको खेलकुद प्रतियोगितामा मङपु वरिपरिका विद्यालयका शिक्षक-शिक्षिकाहरू लगायत अभिभावकहरू उपस्थित थिए।