१३ नोभेम्बरः आर्सनलले जीतको क्रम जारी राख्दै ईंग्लिश प्रीमियर लीगमा आफ्नो शीर्ष स्थानलाई अझ मजबूत गऱ्यो। यसबीच म्यानचेष्टर सिटी र चेल्सीले चाहिँ निराशाजनक हारको सामना गर्नु पऱ्यो। ईएफएल कपमा हारको आघातबाट मुक्त हुँदा आर्सनलले शनिवार राति खेलिएको म्याचमा वूल्भरह्याम्प्टन (वूल्भ्स) विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। वूल्भ्सको होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले दुवै गोल दोस्रो हाफमा हासिल गऱ्यो। मार्टिन ओडेगार्डले म्याचको ५४औं र ७५औं मिनटमा गोल गरे। यस जीतको साथै आर्सनल १४ वटा म्याचमा ३७ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ५ पोइण्ट अधिक रहेको छ। आर्सनलले जीत हासिल गरे पनि शक्तिशाली म्यानचेष्टर सिटी चाहिँ ब्रेण्टफोर्ड विरुद्ध १-२-ले उलटफेरको शिकार बन्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ७५ प्रतिशत पोजेशनको साथ खेले पनि सिटीले म्याच जित्न सकेन। ब्रेण्टफोर्डबाट दुवै गोल इभान टोनेले छिराए। उनले १६औं अनि स्टपेज टाइमको आठौं मिनटमा गोल गरी टीमलाई रोमाञ्चक जीत दिलाए। यसरी नै सिटीबाट फिल फोडेनले मध्यान्तरको ठीक अघि गोल गरे। यस हारपछि सिटी ३२ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो। ब्रेण्टफोर्ड चाहिँ १५ वटा म्याचमा १९ पोइण्टको साथ दशौं स्थानमा पुग्यो।

सिटी झैं चेल्सी पनि न्यूक्यासल विरुद्ध १-०-ले हारको सम्मुखीन भयो। सेण्ट जेम्स पार्कमा खेलिएको यस म्याचमा विजेता टीमबाट एकमात्र गोल जो विलोकले ६७औं मिनटमा छिराए। यस जीतको साथै न्यूक्यासलले १५ वटा म्याचमा ३० पोइण्टको साथ तेस्रो स्थान हासिल गऱ्यो। यसरी नै चेल्सी १४ वटा म्याचमा २१ पोइण्टको साथ आठौं स्थानमा रहेको छ। टोटनह्याम हट्स्परले पनि दशजना खेलाड़ीमा सीमित लीड्स युनाइटेड विरुद्ध ४-३-ले जीत हासिल गर्न निक्कै मेहनत गर्नु पऱ्यो। म्याचमा लीड्स युनाइटेडको टीम लगभग अन्तिम समयसम्म ३-२-ले अघि रहेको थियो तर रोड्रिगो बेण्टांकुरले ८१औं र ८३औं मिनटमा लगातार २ गोल गरी टोटनह्यामलाई रोमाञ्चक जीत दिलाए। टोटनह्यामबाट अन्त दुईवटा गोल ह्यारी केन (२५औं) र बेन डेविस (५१औं मिनट)-ले छिराए। यसरी नै लीड्स युनाइटेडबाट रोड्रिगो मोरेनोले ४३औं र ७६औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल क्रेसेन्सिओ समरविलेले १०औं मिनटमा दर्ता गरे।

म्याचमा लीड्सका खेलाड़ी टेलर एडम्सलाई ८७औं मिनटमा रातो कार्ड देखाइयो। यस जीतपछि टोटनह्याम १५ वटा म्याचमा २९ पोइण्टको साथ चौथो स्थानमा पुग्यो। यसरी नै १४औं स्थानमा रहने लीड्स युनाइटेडसँग १४ वटा म्याचमा १५ पोइण्ट रहेको छ। लिभरपूललाई चाहिँ साउथम्प्टन विरुद्ध ३-१-ले जीत हासिल गर्न धेर असुविधा भएन। विजेता टीमबाट डार्विन नुनेजले २१औं र ४२औं मिनटमा २ गोल गरे। यसरी नै रोबर्टो फिर्मिनोले छैटौं मिनटमा गोल गरे। साउथम्प्टनबाट चे एडम्सले नवौं मिनटमा गोल गरे। लिभरपूल अहिले १४ वटा म्याचमा २२ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।