गान्तोक: जिल्ला पञ्चायत र ग्राम पञ्चायत चुनाउमा जीत दर्ता गर्ने सम्पूर्ण उम्मेदवारहरूलाई सिक्किम विधानसभा अध्यक्ष अरूण उप्रेतीले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। विधानसभा अध्यक्षले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विजयी उम्मेदवारहरूलाई बधाई दिएका छन्।
आफ्नो सन्देश विधानसभा अध्यक्ष उप्रेतीले भनेका छन्, ‘गत १० नोभेम्बर, २०२२ को दिन सम्पन्न जिल्ला पञ्चायत र ग्राम पञ्चायत चुनाउको परिणाम आज १२ नोभेम्बरको दिन घोषणा भयो। यस चुनाउमा जति पनि जिल्ला पञ्चायत एवं ग्राम पञ्चायतका उम्मेदवारहरूले जीत दर्ता गर्नुभएको छ, वहाँहरू सबै सबैलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’
यसै गरी, उनले यस चुनाउमा उत्साहपूर्वक सहभागिता जनाउने सम्पूर्ण उम्मेदवारहरूमा पनि आगामी दिनको निम्ति शुभकामना प्रकट गरेका छन्। उनले धेरै वर्षपछि सिक्किममा दलगत चुनाउ प्रणाली हटाएर स्वतन्त्र चुनाउको व्यवस्था गरिदिएर युवाहरूलाई अवसर प्रदान गरिदिएकोमा मुख्यमन्त्री पीएस तामाङप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यसपल्टको ग्राम तथा जिल्ला पञ्चायत चुनाउलाई सफलतापूर्वक साथै शान्तिमय वातावरणमा सञ्चालन गरिएकोमा राज्य चुनाउ आयोग, पुलिस प्रशासन विभाग, सम्पूर्ण उम्मेदार, मतदाताहरूप्रति पनि उनले हार्दिक धन्यवाद साथै आभार प्रकट गरेका छन्।











