काशीमा देवकोटा जयन्ती

IMG-20221112-WA0354.jpg

वाराणसी: काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती शालीनतापूर्वक पालन गरियो। विभागका आचार्य तथा अध्यक्ष दिवाकर प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको थालनी शोधार्थी यादव सापकोटाको स्वरमा देवकोटारचित शाकुन्तल महाकाव्यको मङ्गलाचरण पाठबाट भयो।
एम ए-का विद्यार्थी कुमार प्रधानले महाकविको पाप लाग्दछ कविता लयवद्ध स्वरमा आवृत्ति गरे। शोधार्थी कुशल तामाङले देवकोटा जयन्ती मितिको आधारमा आज मनाउन पाएर महाकविबारे सविस्तार चर्चा गर्ने अवसर पाएको जनाए। तिथिको आधारमा लक्ष्मी पूजाको दिन देवकोटा जयन्तीले उत्तरजात महत्त्व मात्र पाएको बोध गरीकन काशीबाट प्रसारित प्रस्ताव स्वीकार गरीकन विश्वका धेरै ठाउँ मितिको आधारमा आज प्राथमिक महत्त्वका साथ मनाउन पाइरहेको जनाए। सरलमा सरल र कठिनमा कठिन कविता लेख्न सक्षम महाकविले नेपाली भाषालाई धनी तुल्याउन गोर्खा जातिका जात-जातका मिथकलाई काव्यरचनाका आलम्बन बनाएर समावेशी लेखननीति अँगालेको स्पष्ट पारे। शोधार्थी इन्द्रमान सुब्बाले देवकोटाको प्रातिभ ज्ञानबारे चर्चा गर्दै शास्त्रीय छन्द र जातीय छन्दका प्रवीण प्रयोक्ता देवकोटा कल्पनाका कुबेर थिए भन्दै उनको पश्चिमी साहित्यसिद्धान्तका अध्येता र प्रयोक्ताका रूपमा महाकविको परिचय दिए। पश्चिमी साहित्यदर्शन भित्र्याएर पनि पूर्वीय सनातन संस्कृतिलाई अङ्गीभूत महत्त्व दिनु महाकविको वैशिष्ट्य हो भन्नेमा प्रकाश पारे। यसका साथै सुब्बाले पौरस्त र पाश्चात्य लक्षण ग्रन्थका ज्ञाता भएर पनि छन्दालङ्कारका ज्ञान प्रकृतिबाट धेर ग्रहण गरेको सत्यबारे देवकोटाले आत्मस्वीकार गरेको जनाए।
अध्यक्षीय अभिभाषणमा प्रो. प्रधानले महाकविको व्यक्तित्व र कृतित्वबारे छोटोमा प्रकाश पार्दै उनी स्वयं एउटा संस्थान र नेपालीभाषी समाजका सांस्कृतिक धरोहर हुन् भने। कार्यक्रममा नेपाली प्रभागका बाहेक अन्य विभागका नेपालीभाषी विद्यार्थीहरू पनि सहभागी रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement