१२ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३) शनिवारदेखि शुरु भयो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आज भएको उद्घाटन म्याचमा केकेएफसी झापा (नेपाल)-ले सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग (सिक्किम)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका गोलकीपर मनकुमार लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा जी टी ए, स्वास्थ अनि अल्पसंख्यक जनकल्याण विभागका भारप्राप्त कार्यकारी सभासद अरूण सिगची उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ।टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५०हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।