१२ नोभेम्बरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब (यूजीएससी), महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। गुम्ती खेल मैदानमा आज भएको म्याचमा चाँद एफसी (तीनधारे)-ले आयोजक यूजीएससी-लाई टाईब्रेकरमा ४-२-ले पराजित गरी फाइनलमा स्थान बनायो । नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।नियमित समयको खेलमा चाँद एफसी-बाट सोनम जांगपो भूटिया र उत्तम राईले १-१ गोल गरे। यसरी नै यूजीएससी-बाट रोनिक राईले २ गोल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा मिक्स अप् महानदी र आर्यन सेभेन, खरसाङबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३० वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल १२ र १३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका महासचिव प्रवीण दर्नालले बताएका छन्।