बक्सिंगः लवलीना, स्वीटी, अल्फिया र परवीनले जितिन् स्वर्ण पदक

IMG-20221112-WA0099.jpg

१२ नोभेम्बरः भारतीय बक्सर लवलीना बोरगोहेन, स्वीटी बूरा, अल्फिया खान र परवीन हुड्डाले एएसबीसी एशियन बक्सिंग च्याम्पियनशीपमा आ-आफ्नो फाइनल जितेर स्वर्ण पदक हासिल गरिन्। टोक्यो ओलम्पिक २०२०-मा काँस्य पदक विजेता २५ वर्षीय लवलीनाले महिलाहरूकी ७५ किग्रा वर्गको फाइनलमा उज्बेकिस्तानकी रुजमेतोवा सोखिबालाई ५-०-ले पराजित गरी स्वर्ण पदक जितिन्। एशियन च्याम्पियनशीपमा यो उनको पहिलो स्वर्ण पदक हो। यसअघि उनले २०१७ र २०२१-मा काँस्य पदक जितेकी थिइन्।
लवलीनाकी साथी बक्सर स्वीटी (८१ किग्रा प्लस)-ले स्वर्ण पदक जित्नको निम्ति कजाकिस्तानकी गुलसाया यरजानलाई ५-०-ले पराजित गरिन्। स्वीटीले पनि एशियन च्याम्पियनशीपमा पहिलोपल्ट स्वर्ण पदक जितिन्। यसअघि उनले २०१५-मा रजत अनि २०२१-मा काँस्य पदक जितेकी थिइन्। यसरी नै वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता परवीनले महिलाहरूकी ६३ किग्रा वर्गको फाइनलमा जापानकी किटो मे-लाई सर्वसम्मत फसेलाद्वारा ५-०-ले पराजित गरिन्। परवीनले कमनवेल्थ गेम्समा हिस्सा लिन सकेकी थिइनन् तर यसपाली उनले चौथो वरीयता प्राप्त किटोलाई सजिलै पराजित गरी स्वर्ण पदक जितिन्। अल्फिया खानले जोर्डनकी इस्लाम हुसैलीलाई पराजित गरी स्वर्ण पदक जितिन्। अल्फियाले जीतको निम्ति अधिक मेहनत गर्नु परेन। उनकी प्रतिद्वन्द्वी पहिलो राउण्डमा अयोग्य घोषित हुँदा भारतीय बक्सरले स्वर्ण पदक सुनिश्चित गरिन्।
यसबीच मीनाक्षीले आफ्नो पहिलो एशियन च्याम्पियनशीपको समापन रजत पदकको साथ गरिन्। महिलाहरूकी ५२ किग्रा वर्गको फाइनलमा मिनाक्षीलाई जापानकी किनोशिता रिन्काले ४-१-ले पराजित गरिन्। पहिलो राउण्डमा सामान्य रक्षात्मक खेल देखाउने मीनाक्षीले पछिबाट सक्दो प्रयास गरे पनि स्वर्ण पदक जित्न सकिनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement