शिलाङ। मेघालयको शिलङमा आयोजित दोस्रो पूर्वोत्तर ओलम्पिक खेलको उद्घाटन कार्यक्रमको मार्च पास्टमा सिक्किम राज्यका एथलेटिक्स अनि अधिकारीहरूले सहभागिता जनाए। मार्च पास्टमा सिक्किमबाट द्रोणाचार्य अवार्डले सम्मानित बक्सिङ कोच सन्ध्या गुरुङले अगुवाई गरेकी थिइन्। यसरी नै मन्त्रीगण सञ्जीत खरेल, भीमहाङ लिम्बू, ओलम्पिक एसोसिएशनका अध्यक्ष कुवेर भण्डारी, कार्यकारी सदस्यहरू अनि खेल तथा युवा मामिला विभागका पर्यवेक्षक आरबी विश्वकर्मा लगायत अन्यको उपस्थिति रहेको थियो। ३ हजारभन्दा अधिक एथलेटिक्स अनि अधिकारीहरूले यस च्याम्पियनशीपमा अंशग्रहण गरेका छन्। शिलङको नर्थ ईष्ट हिल युनिभर्सिटीको स्टेडियममा आयोजित उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको थियो भने ५०९ ड्रोनद्वारा प्रदर्शनी गरिएको थियो। जानकारी गराइन्छ, दोस्रो पूर्वोत्तर ओलम्पिक खेल २०२२-मा सिक्किमबाट विभिन्न खेलमा २३० जना खेलाड़ीहरू अंशग्रहण गर्न शिलङ पुगेका छन्।