गान्तोक: सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले सिक्किममा धारा ३७१एफ- लाई सबैभन्दा धेरै घातक बताएका छन्। सिक्किमबासीहरूले चुनेका राज्य सरकारहरूले धोखा दिएको आरोप लगाएको छ। एसआरपीले धारा ३७१एफ- को पूर्ण रूपमा सुरक्षा सुनिश्चित गर्न सबै पुराना कानूनहरू पुनर्बहाल गर्नु पर्ने अड़ान पनि स्पष्ट गरेको छ।एसआरपी अध्यक्ष केबी राईले दिल्लीमा धारा ३७१एफ उड़ाउनु पर्छ भनेर धरना दिने व्यक्ति सुमन्त कुमारलाई पुलिसले पक्राउ गरेर ल्याएको सन्दर्भमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै यसो भनेका हुन्। उनले धारा ३७१एफ- लाई पटक-पटक घात गर्ने काम हुॅंदै आएको दाबी गरे भने धारा ३७१एफ उड़ाउनु पर्छ भन्ने सुमन्त कुमार ठूलो दोषी कि धारा ३७१एफ- लाई घात गर्नेहरू दोषी भनी प्रश्न गरे।उनले १९७९ मा नेपाली सीट उड़ाइयो, तर कसरी यसो गरियो भन्ने कुरा कसैलाई जानकारी नरहेको बताए। उनले सिक्किमेहरूको सुरक्षा भनेको धारा ३७१एफ को स्पिरिट रहेको बताउॅंदै नेपाली सीट उड़ाउनु धारा ३७१ एफ माथि ठूलो घात रहेको ठहर गरे। उनले आज सिक्किमका सबैभन्दा ठूलो समुदाय धारा ३७१एफ भित्र अटाउन नसकेको र यसको सुरक्षा प्राप्त नरहेको बताए। उनले धारा ३७१एफ को स्पिरिट तहस-नहस भएको दाबी गरे। सिक्किमे नेपालीहरूले आफ्नो सुरक्षा कवच मात्र गुमाएका छैनन्, तर इन्फ्लक्सको कलंक पनि झेल्नु परेको उनले बताए।
एसआरपी अध्यक्ष राईले पूर्व अनि वर्तमान सरकारहरू जवाफदेही बन्नुपर्छ भनी बताए। त्यस समय आफुहरू सरकारमा थिएनौं भनेर धर नपाउने बताउॅंदै पूर्व सरकारले २५ वर्षसम्म के हेरिबस्यो र वर्तमान सरकारले किन गर्न सकेको छैन भनी उनले प्रश्न तेर्साए। वर्तमान सरकारले नेपाली सीट पुनर्बहाल गर्ने वचन दिएर सत्तामा आएको, तर अहिले कुरासम्म नगरेकोमा उनले आश्चर्य व्यक्त गरे। उनले नेपाली सीट पुनर्बहालका साथै धारा ३७१ एफ द्वारा सुरक्षाप्राप्त सबै पुराना कानूनहरू पुनर्बहाल गर्नु पर्छ भन्ने अड़ान राखे।अर्कोतिर, उनले पुलिसद्वारा गरिएको केरकारमा सुमन्त कुमारले उनलाई समर्थन जनाउने जुन व्यक्तिहरूको नाम खुलासा गरे, ती नामहरूलाई पुलिसले मिडियामार्फत सार्वजनिक गरेकोमा पनि अध्यक्ष राईले आपत्ति जनाए। उनले एकातिर जॉंच चलिरहेको र अर्कोतिर आरोपहरू प्रमाणित नभएकाले यसरी कसैको नाम सार्वजनिक गरेर स्वाभिमान चोट पुऱ्याउने काम अनुचित रहेको बताए।
उनले हालैमा सम्पन्न भएको पञ्चायत चुनाउ निर्दलीय भनिएको भए तापनि निर्दलीय नभएको आरोप लगाए। उनले पञ्चायत चुनाउ स्वतन्त्र अनि निष्पक्ष रूपमा भएन भनी दाबी गरे।