गान्तोक: प्रितम लामा ग्रामीण पत्रकारिता पुरस्कार २०२२ को निम्ति चयनित भएका छन्। प्रेस क्लब अफ सिक्किमको आज बसेको बैठकले युवा पत्रकार लामालाई ग्रामीण पत्रकार पुरस्कार २०२२ को निम्ति चयनित गरेको हो। विभिन्न प्रस्तावित नामहरूमा छलफल गरेपछि पछिल्ला ९ वर्षदेखि पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत योक्सममा बसेर विभिन्न दैनिक समाचार पत्र र डिजिटल मिडियामा ग्रामीण क्षेत्रका समाचार सम्प्रेषण गर्दै आएका प्रितम लामालाई यस वर्षको पुरस्कारको लागि मनोनित गरिएको हो। वर्ष २०१३ देखि पत्रकारिता शुरु गरेका प्रितम लामालाई आगामी १६ नोभेम्बरमा पालन गरिने राष्ट्रिय प्रेस दिवसको अवसरमा प्रेस क्लब अफ् सिक्किमले ग्रामीण पत्रकारिता पुरस्कारद्वारा सम्मानित गर्नेछ। प्रितम लामाको योगदानले सिक्किमको ग्रामीण पत्रकारिता क्षेत्रले नयाँ दिशा प्राप्त गर्नेछ भन्ने विश्वासका साथ प्रेस क्लब अफ् सिक्किमको पक्षबाट युवा पत्रकार लामालाई हार्दिक बधाई तथा शुभकामना दिएको छ।