११ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा डीएसए-ले किशोर संघ, सिलगढ़ीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा डीएसए-बाट बिक्की थापा र अभिषेक थापाले गोल गरे। यसरी नै किशोर संघबाट राजा मल्लिक र राशिद आलमले गोल गरे। डीएसए-का योगेश लामालाई प्लेयर अव् द म्याच चयन गरियो। अब १४ नोभेम्बरको दिन खेलिने फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।