अलिपुरद्वार: काल्चिनी ब्लकको दक्षिण लताबारी गाउँमा दुईवटा जङ्गली भालुले हंगामा मच्चाएका छ। धेरै प्रयासपछि वन विभागले दुवै भालुलाई नियन्त्रणमा लिएको छ। यो घटनालाई लिएर दक्षिण लताबारी क्षेत्रमा सर्वसाधारणमा चरम त्रास फैलिएको छ। गएराति करिब २ बजे दुईवटा भालु पसेर सो क्षेत्रका उमेश ठाकुरले पालेका सुँगुरलाई तानेर लगेको स्थानीयले बताएका छन्। शुक्रबार बिहान वन कर्मचारी र दक्षिण लताबारी बक्सा बाघ आयोजनाका कर्मचारीले घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएका छन्। खबर पाएलगत्तै काल्चिनी प्रहरी चौकीका प्रहरी पनि गाउँ पुगे। भालु झाडीमा लुकेको गाउँलेहरुले जनाए। पछि वन विभागले निद्राको गोली चलाएर ठूलो भालुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि गाउँलेको सहयोगमा वनकर्मीले भालुलाई समातेका थिए। वनकर्मीले दुवै भालुलाई साथमा लिएर राजाभटखवा जंगलमा लगे।