update
गान्तोक। आज राज्यभरिको १०२ वटा जिल्ला टेरिटोरियल अनि 695 वटा वार्ड पञ्चायत आसनहरूको निम्ति चुनाउ शान्तिपूर्ण ढंगमा सम्पन्न भयो। गणतान्त्रिक प्रणालीको यस महोत्सवमा राज्यवासीले खुलेर मतदान गरेको देखियो।
राज्यभरि १०२वटा जिल्ला टेरिटोरियलमा खड़ा भएका 408 उम्मेदवार अनि ६९५ वार्ड पञ्चायतहरूमा खड़ा भएका १६७६ उम्मेदवारहरूको भाग्य आज ईभीएममा बन्द भयो। अब आगामी १२ नोभेम्बरको दिन यसको मतगणना हुनेछ।
आज बिहानैदेखि राज्यको सबै पुलिङ बूथहरूमा मतदाताहरूले पहिलोपटक सम्पन्न पार्टीविहीन पञ्चायत चुनाउमा खुबै उत्साहपूर्वक ढंगमा सहभागिता जनाउँदै मतदान गरेको देखियो। बिहान 8 बजीदेखि शुरु भएको मतदान प्रक्रियामा मतदान गर्न योग्य भइसकेका युवा, वृद्ध-वृद्धा, दिव्याङ्ग सबैले मतदान गरे। बेलुकी ६ बजीसम्म मतदान प्रक्रिया चलेपछि सबै जिल्ला अनि वार्ड पञ्चायतको भाग्य ईभीएममा बन्द गरेर सम्बन्धित जिल्लाको स्ट्रोङ रूममा राज्य चुनाउ आयोगका सम्बन्धित अधिकारीहरूको उपस्थितिमा बन्द गरियो। अब यो स्ट्रोङ रूम आगामी १२ नोभेम्बरको दिन मात्र खोलिने भएको छ।
जानकारी गराइन्छ, आज सम्पन्न पञ्चायत चुनाउमा यहाँको लोवर ताथाङ्चेन बूथमा सर्वाधिक १०७१ मतदाता रहेका थिए भने सबैभन्दा कम मतदाता रहेको बूथ सीप गेर ग्राम पञ्चायतको निगो वार्ड रहेको थियो। यहाँ मतदाताहरूको संख्या केवल ४७ रहेको थियो।
स्मरण रहोस्, राज्यभरिको मोठ १२२ मध्ये १९ जिल्ला टेरिटोरियलको निम्ति खड़ा भएका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने एउटा जिल्ला टेरिटोरियलमा भने रि पोल हुने भएको छ। यसरी नै ११४७ वार्ड पञ्चायत आसनहरूमध्ये ४४८ वटा वार्डका उम्मेदवारहरू पनि निर्विरोध निर्वाचित भइसकेका छन्। ४ वटा वार्ड पञ्चायत आसनको निम्ति भने रि पोल हुने भएको छ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नेतृत्वमा २०१९-मा राज्यमा सरकार गठन भएपछि शहरी अनि पञ्चायत चुनाउ प्रणालीलाई पुनः पार्टीविहीन गरेको छ। आज सम्पन्न चुनाउमा १०२ जिल्ला टेरिटोरियल आसनहरूबाट 408 जना उम्मेदवार खड़ा भएका छन् जसमा २३१ जना पुरुष अनि १७७ जना महिला उम्मेदवार रहेका छन्। यसरी १ हजार ६६ जना उम्मेदवार ग्राम पञ्चायत आसनहरूबाट खड़ा भएका छन् जसमा ७९४ पुरुष अनि ८८२ महिला उम्मेदवार रहेका छन्। यसपाली ग्राम पञ्चायत चुनाउमा पुरुषकोभन्दा महिला उम्मेदवारहरूको संख्या अधिक रहेको छ। अब उनीहरूको भाग्य लिएको ईभीएम पर्सी शनिवार खुलिनेछ।