गान्तोक: राज्यमा सम्पन्न भइरहेको पञ्चायत चुनाउको स्थिति बुझ्न राज्य चुनाउ आयोगका सचिव टीएन भोटियाले विभिन्न पोलिङ स्टेसनको निरीक्षण गरे। उनले विशेष गरेर गान्तोक निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न पोलिङ स्टेसनको निरीक्षण गर्दै ताजा स्थितिबारे जानकारी लिए। निरीक्षणको क्रममा सचिव भोटियाले चुनाउमा खटिएका अधिकारीहरूसँग अन्तक्रिया गर्दै मतदाता र अधिकारीहरूको निम्ति सुरक्षा साथै अन्य सुविधाको प्रबन्धनहरूबारे पनि जान्ने कोशिष गरे। उनले अधिकारीहरूलाई यस चुनाउ स्वतन्त्रता साथै निष्पक्ष ढङ्गमा सम्पन्न गराउनु पर्ने सुझाउ दिए। उनले प्रजातन्त्रको उपभोग गर्नको निम्ति मतदानका लागि आएका सबै मतदाताहरूलाई बधाई पनि दिए। राज्यको सबै पोलिङ बुथहरूमा यो वर्ष पुरूषको तुलनामा महिला मतदाताहरूको संख्या अधिकर रहेको छ।