कालचिनी – हेमिल्टनगञ्जको ऐतिहासिक काली पूजा मेलाको समापन पश्चात रास पूर्णिमाको अवसरमा लाग्ने गरेको रास मेलाको आज कालचिनी खण्ड अधीनस्थ लोथाबारी ग्राम पञ्चायत अन्तर्गत पर्ने निमती दोमोहनीमा विधिवत रुपमा उद्घाटन भएको छ। बुधबार अबेर साँझ निमती दोमोहनी ३१ सी राष्ट्रिय राजमार्ग संलग्न क्षेत्रमा आजदेखि रास मेला शुरु भएको छ भने आज यसको उद्घाटन समारोहमा तृणमूल अलिपुरद्वार जिल्ला कमिटीको चेयरम्यान मृदुल गोस्वामी लगायत तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
आगामी ५ दिनसम्म चल्ने उक्त मेलाको अवसरमा विभिन्न मनोरञ्जनात्मक स्टलहरू राखिएको छ भने विगत १० बर्षदेखि रास मेला चल्दै आईरहेको मेला कमिटीको सभापति नित्य गोपाल गाबुरले जनाएका छन्। मूलतः निमती संलग्न क्षेत्रका मानिसहरूको मनोरञ्जनलाई ध्यानमा राखेर मेलाको आयोजना गर्दै आइरहेको र यसमा प्रशासनिक सहयोगिता पनि रहेको मेला कमिटीको सदस्यहरूले जनाएका छन्।