ईएफएल कपः आर्सनल र टोटनह्यामको बिदाई, सिटी र लिभरपूल विजयी

IMG_20221110_121349.jpg

१० नोभेम्बरः ईंग्लिश फूटबलको प्रतिष्ठित टुर्नामेण्ट ईएफएल कप (काराबाओ कप)-मा म्यानचेष्टर सिटी र लिभरपूलले आ-आफ्नो म्याच जिते पनि फर्ममा रहने आर्सनल चाहिँ निराशाजनक हारको साथ टुर्नामेण्टबाट बाहिर भयो। ईंग्लिश फूटबल लीग (ईएफएल)-द्वारा आयोजन गरिने यस नक्आउट प्रतियोगितामा आर्सनललाई ब्राइटनले ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५७ प्रतिशत पोजेशनको साथ खेले पनि आर्सनलले म्याच हातबाट उम्कायो। एडी नकेतिआहले २०औं मिनटमा बढ़त दिलाए पनि आर्सनलले त्यसलाई काममा लगाउन सकेन। डेनी वेलबेकले २७औं मिनटमा पेनल्टीबाट गोल गरी ब्राइटनलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि काओरु मितोमाले ५८औं र तारिक लाम्पटेले ७१औं मिनटमा अझ २ गोल गरी ब्राइटनलाई ३-१-ले जीत दिलाए। यसरी प्रीमियर लीगमा असाधारण प्रदर्शन गर्ने आर्सनलले ईएफएल कपमा चाहिँ औसत प्रदर्शनको साथ बिदा लियो।

यसबीच म्यानचेष्टर सिटीले हाई भोल्टेज म्याचमा चेल्सीलाई २-०-ले पराजित गऱ्यो। ऐतिहाद स्टेडियममा खेलिएको तेस्रो राउण्डको यस म्याचमा म्यानचेष्टर सिटीबाट रियाद माहरेजले ५३औं र जूलियन अल्भारेजले ५८औं मिनटमा गोल गरे। म्याचमा चेल्सीले पनि केही असल मौकाहरू पाएको थियो तर उनीहरूले त्यस मौकामा गोल चाहिँ गर्न सकेनन्। लिभरपूलले चाहिँ डर्बी काउण्टी विरुद्ध टाईब्रेकरमा ३-२-ले जीतको निम्ति निक्कै मेहनत गर्नु पऱ्यो। म्याचमा केवल २६ प्रतिशत पोजेशनको साथ खेले पनि डर्बी काउण्टीले जुर्गेन क्लोपको दोस्रो स्तरको टीमलाई पूरा म्याचमा सतायो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। आर्सनल झैं टोटनह्यामले पनि निराशाजनक हारको साथ टुर्नामेण्टबाट बिदा लियो। दशजना खेलाड़ीको साथ खेल्ने नटिंघम फरेष्टले टोटनह्याम हट्स्परलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रेनान लोडीले ५०औं र जेस्से लिंगार्डले ५७औं मिनटमा गोल गरे। नटिंघम फरेष्टका खेलाड़ी ओरेल मंगलालाई ७५औं मिनटमा रातो कार्ड देखाइयो। ईएफएल कपको अन्य म्याचहरूमा न्यूक्यासलले क्रिस्टल प्यालेसलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा गोल हुन सकेन। यसरी नै ब्ल्याकबर्न रोभर्सले वेष्ट ह्याम विरुद्ध टाईब्रेकरमा १०-९-ले जीत हासिल गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement