९ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन(यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड एफसी दार्जीलिङले अझ एउटा रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले जंक्शन स्टार, सिलगढ़ीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल आशिष राईले छिराए। उनले ४५औं र ४८औं मिनटमा गोल गरे। युनाइटेड एफसी दार्जीलिङका प्रशान्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो।अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र किशोर संघ, सिलगढ़ीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।