९ नोभेम्बरः पेसर शाहिन शाह अफरीदीको अगुवाईमा बलरहरूका अनुशासित प्रदर्शनपछि ओपनर मोहम्मद रिजवान अनि कप्तान बाबर आजमको अर्द्धशतकको सहायताले पाकिस्तानले न्यूजील्याण्डलाई टी२० वर्ल्ड कपको पहिलो सेमिफाइनलमा ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनायो। भाग्यको साथ पाएर अन्तिम चारमा पुग्ने पाकिस्तानले आज सिडनी क्रिकेट ग्राउण्डमा पहिलो बलदेखि नै असाधारण क्रिकेट खेल्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनायो। जवाफमा पाकिस्तानले ५ बल बाँकी रहँदै ३ विकेट गुमाएर १५३ रनको लक्ष्यलाई हासिल गऱ्यो। पूरा टुर्नामेण्टमा फ्लप रहने पाकिस्तानको ओपनिंग जोड़ीले आज असाधारण प्रदर्शन गऱ्यो। कप्तान बाबर आजम र विकेटकीपर रिजवानको जोड़ीले पहिलो विकेटको निम्ति १२.४ ओभरमा १०४ रनको साझेदारी गरी म्याचमा न्यूजील्याण्डको चुनौतीलाई समाप्त गऱ्यो। बाबरले ४२ बल खेलेर ७ वटा चौकाको सहायताले ५३ रन बनाए। यसरी नै रिजवानले ४३ बलमा ५ वटा चौकाको साथ ५७ रन बनाए। यी दुई आउट भएपछि मोहम्मद हारिसले ३० रन बनाएर टीमलाई जीतको मुखमा पुऱ्याए। शान मसूदले अविजित ३ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा ट्रेण्ट बोल्टले २ विकेट लिए।
यसअघि पहिला ब्याटिंग गर्दै केवल ४९ रनमा ३ विकेट गुमाउने न्यूजील्याण्डलाई डेरल मिचेलले उकासे। मिचेलले ३५ बलमा ३ वटा चौका र एउटा छक्काको सहायताले अविजित ५३ रन बनाए। यसबाहेक कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन बनाए। यी दुईलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। डेवोन कनवे २१ रन बनाएर शादाब खानको सीधा थ्रो-मा रन आउट भए। पाकिस्तानका बलरहरूमा अफरीदीले २ विकेट लिए। मोहम्मद रिजवानलाई प्लेयर अव् द म्याच चयन गरियो।