८ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा बुङकुलुंग हिरोजले दोस्रो राउण्डमा स्थान बनायो। स्थानीय गढ़ी खेल मैदानमा मंगलवार भएको म्याचमा बुङकुलुंग हिरोजले सिमलबारी एफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहिनले ह्याट्रिक गरे। रोहिनले म्याचको १८औं, ५६औं र ६२औं मिनटमा गोल गरे। यसबाहेक एक गोल अनीशले छिराए। यसरी नै सिमलबारी एफसी-बाट रोहन सरकारले २९औं र अनुरागले ७३औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।