गान्तोक: सुमन्त कुमार जसले सिक्किमलाई प्राप्त संविधानको विशेष प्रावधान ३७१एफ उडाउन पर्छ भन्दै दिल्लीमा धर्नामा बसेका थिए उनलाई सिक्किम पुलिसले लगभग ५० दिनको खोजपछि पक्राउ गरेर सिक्किम ल्याएको छ। अर्कोतिर, पुलिस केरकारमा सुमन्त कुमारले गरेको खुलासापछि सत्तारूढ़ एसकेएम पार्टी र विपक्षी एसडीएफ पार्टीबिच आरोप-प्रत्यारोपको क्रम शुरू भएको छ।आरोपित सुमन्तले उनको धरना प्रदर्शनलाई समर्थन गर्ने र उक्साउनेहरूमा एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नाल, सिक्किम सुरक्षा समितिका अध्यक्ष मदन तामाङ, प्रेम गोयल, बिरेन्द्र प्रसाद र डा. वीके प्रसादको नाम लिएका छन्। यस खुलासापछि, एसकेएम पार्टीले उक्त सबै व्यक्तिहरू सिक्किम, सिक्किमे र धारा ३७१एफ विरोधी रहेको आरोप लगाउॅंदै उनीहरू विरूद्ध पुलिसले कानूनी कारबाही गर्नुपर्छ भन्ने माग गरेको छ। अर्कातिर, आज एसडीएफ प्रवक्ता जेबी दर्नालले एक प्रेसवार्तामा एसकेएम पार्टीले लगाएका आरोपहरू सत्य नरहेको दाबी गरे। उनले एसकेएममाथि उल्टै आफुलगायत एसडीएफ र एसडीएफ अध्यक्ष पवन चामलिङको छवि धमिल्याउन खोजिरहेको आरोप लगाए। एसकेएमले गलत कुराहरू प्रसार गरिरहेको छ भन्दै उनले यसको खण्डन पनि गरे। उनले आरोपित सुमन्तसॅंग उनको कुनै सम्बन्ध नरहेको बताउॅंदै सुमन्त र एसकेएम पार्टीले मिलेर आफुहरू विरूद्ध यो षड़यन्त्र रहेको आरोप लगाए।सुमन्त कुमारले पुलिस केरकारमा उनको नाम लिएको बताउॅंदै पुलिसले सोधपुछको निम्ति सदर थाना बोलाएको प्रवक्ता दर्नालले अवगत गराए। सुमन्तले आफु विरूद्ध लगाएका आरोपहरू सत्य नरहेको बयान पुलिस समक्ष दिएको उनले बताए। तर, एसकेएम पार्टीले यस विषयलाई राजद्रोहको आरोपमा पुलिसले नोटिस पठाएको जस्तै गरेर प्रचार-प्रसार गरिरहेको उनले बताए। उनले एसकेएम पार्टी आज हरेक क्षेत्रमा विफल बनेपछि अनि जनाधार खस्किन थालेपछि जनताको ध्यान हटाउने यस्तो षड़यन्त्र रहेको बताए।
उनले एसकेएम पार्टी यदि यस विषयमा इमान्दार छ भने सीबीआईद्वारा जॉंच गराउनु पर्ने माग गरे। यदि सीबीआई जॉंच गराउॅंदैन भने यो एसकेएम रे सुमन्तबिचको साठगॉंठ रहेको स्पष्ट हुनेछ भनी उनले बताए।