३७१एफ विरूद्ध दिल्लीमा धरना दिने गुप्ताको पक्राउपछि संगठन र व्यक्तिहरूको नाम खुलासा

IMG_20221108_220109.jpg

गान्तोक: धारा ३७१एफ विरूद्ध राष्ट्रिय राजधानी दिल्लीमा धरना दिने सुमन्तकुमार गुप्ताको पक्राउपछि गुप्ताले पुलिस समक्ष केही यस्ता संगठन र व्यक्तिहरूको नाम खुलासा गरेका छन् जसले सबैको ध्यान आकर्षित गरेको छ। अर्कातिर, सत्तारूढ़ एसकेएम पार्टीले उक्त संगठन र व्यक्तिहरूले राज्यवासीहरूलाई दिग्भ्रमित गरिरहेको आरोप लगाउॅंदै उनीहरूको सिक्किमप्रति इमान्दारितामाथि प्रश्न उठाएको छ।
एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले यसै वर्ष अगस्त महिनामा दिल्लीको जन्तर-मन्तरमा सिक्किमको सुरक्षा कवच धारा ३७१ एफ उड़ाउनु पर्छ भनेर धरनामा बस्ने बिहार निवासी सुमन्तकुमार गुप्तालाई सिक्किम पुलिसले अथक प्रयासपछि पक्राउ गर्न सफल बनेको बताए। उनले यसका लागि सिक्किम पुलिस बधाईको पात्र रहेको बताउॅंदै राज्यका मुख्यमन्त्रीको तर्फबाट बधाई सन्देश दिए। मुख्यमन्त्री पीएस तामाङले विधानसभामा आरोपित व्यक्तिलाई पक्राउ गर्ने वचन दिएका थिए जसलाई पूरा गरिएको उनले थप बताए।
प्रवक्त खालिङले पुलिस केरकारमा सुमन्त कुमार गुप्ताले उनलाई सहयोग अनि समर्थन गर्नेहरूमा एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नाल, सिक्किम सुरक्षा समितिका अध्यक्ष मदन तामाङ, पुराना व्यापारी प्रेम गोयल, सिक्किम बिहारी जागरण मञ्चका पूर्व महासचिव बिरेन्द्र प्रसाद र डा. वीके प्रसादको नाम लिएको खुलासा गरेका छन् भनी बताए। खालिङले सिक्किमको सुरक्षा कवच उड़ाउनु पर्छ भन्ने व्यक्तिलाई सहयोग अनि समर्थन गर्नेहरू पनि सिक्किम विरोधी रहेको आरोप लगाए। उनले यस्ता व्यक्तिहरूलाई पुलिस कड़ाभन्दा कड़ा कानूनी कारबाही गर्नु पर्छ भनी माग गरे।
उनले जेबी दर्नाल एसडीएफ पार्टीका प्रवक्ता भएकाले एसडीएफ पार्टी र पार्टी अध्यक्ष पवन चामलिङ पनि दोषी रहेको आरोप लगाए। एकातिर, जनता अघि धारा ३७१एफ को सुरक्षाको कुरा गर्ने, तर अर्कातिर धारा ३७१ एफ उड़ाउनु पर्छ भन्ने व्यक्तिलाई समर्थन गरेर एसडीएफ पार्टीले स्वयंलाई सिक्किम विरोधी साबित गरेको छ भनी उनले बताए।
उनले प्रवक्ता दर्नाल र पूर्व मुख्यमन्त्रीले सिक्किमे जनतालाई माफी माग्नु पर्छ भने। यसै गरी, उनले प्रवक्ता दर्नाललाई एसडीएफले तत्काल पदबाट हटाउनु पर्छ भन्ने माग गरे। यसै गरी, पार्टी अध्यक्ष चामलिङले पनि नैतिकतामा आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ भन्ने माग गरे। यसो नगरेको खण्डमा एसडीएफ सिक्किम विरोधी रहेको स्पष्ट हुनेछ भन्दै उनले सिक्किम विरोधी पार्टीलाई सिक्किमका जनताले पनि खारेज गर्नु पर्छ भने।
यसैगरी, उनले सिक्किम सुरक्षा समितिका अध्यक्ष मदन तामाङले धरनाम बसेर सिक्किम सुरक्षाको ढोंग गरिरहेको आरोप लगाए। तामाङले धारा ३७१ एफ को विरोध गर्ने व्यक्तिलाई समर्थन गरेर आफु सिक्किम र धारा ३७१ एफ विरोधी रहेको प्रमाणित गरेको पनि उनले आरोप लगाए। प्रवक्ता खालिङले प्रेम गोयल, बिरेन्द्र प्रसाद र डा. वीके प्रसादलाई सिक्किम र सिक्किमेहरूले अन्याय गरेको छैन भन्दै किन सिक्किम विरोधी आवाज उठाएका छन् भनी प्रश्न तेर्साए। उनीहरूले सिक्किमे जनतालाई माफी माग्नु पर्छ र भविष्यमा सिक्किमको अहित गर्ने काम गर्ने छैनौं भनी कसम पनि खानु पर्नेछ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement