कवि योगिता राईको दोस्रो कविता कृति ‘समय स्वर’ लोकार्पित

photocollage_2022118194628625.jpg

खरसाङ: दार्जिलिङका सक्रिय कवि योगिता राईको दोस्रो कविता संग्रह ‘समय स्वर’ को लोकार्पण गरिएको छ। सालबारीको सविता गोम्देन साहित्य कक्षामा एक कार्यक्रमबीच कवि योगिता राईको दोस्रो कविता सङ्ग्रह ‘समय स्वर’ लोकार्पण गरियो। कार्यक्रमलाई शब्द समयका अभिभावक साहित्यकार नरबहादुर दाहालको विशिष्ट उपस्थिति र अध्यक्षतामा सम्पन्न गरियो।

समारोहमा विशिष्ट साहित्यकारहरू भविलाल लामिछाने, मोहन ठकुरी, डीएस बम्जन, ज्ञानेन्द्र खतिवडा, कालूसिंह रनपहेली, खडकराज गिरी, लीलबहादुर सुनार, बबिता मादेन, शैलेन्द्र समदर्शी, हेमन्त काँफ्ले, विसन कार्की, हेमा भट्टराई, वाङ्चु भूटिया आदिको उपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्ष, उपस्थित साहित्यकारहरू अनि कृतिकारको बाहुलीबाट कृति लोकार्पण गरियो। कृति लोकार्पण भएको घोषणा अध्यक्ष दाहालले गरे। यस अवसरमा कृतिको चर्चासितै कवि योगिता राईको काव्य लेखन कौशल, सीप, उनको समाजिक योगदान आदिबारे साहित्यकारहरूले प्रकाश पारिरहेका थिए। यस क्रममा कार्यक्रम अध्यक्ष नरहादुर दाहाल, कवि भविलाल लामिछाने, कवि मोहन ठकुरी, कवि ज्ञानेन्द्र खतिवडा, युग्मककार कालूसिंह रनपहेली, आख्यानकार बबिता मादेन, कवि लीलबहादुर सुनार आदिले कुराहरू राखे। वक्ताहरूले कवि योगिता राईको लेखनसितै वर्तमानमा काव्य लेखनमा आएको ट्रेन्ड आदिबारे कुराहरू राखे। वक्ताहरूले कवि योगिता राईका कविताहरूको चर्चा गर्दै उनीबाट भविष्यमा अझ उम्दा कृतिहरू पाउने आशा व्यक्त गरे। प्रकाशकको पक्षमा कला सङगम मञ्च, दार्जीलिङका अध्यक्ष विसन कार्कीले कुराहरू राखे। उनले भने योगिता राईको यो कृति प्रकाशित गर्न पाउनु कला सङगम मञ्चको अहोभाग्य हो।

कृतिकार कवि योगिता राईले पनि आफ्ना कुराहरू राखिन्। उनले आफ्नो काव्य लेखनका कुराहरूसँग आफ्ना प्रेरणा स्रोतहरूबारे बताइन् अनि आफ्ना प्रेरक र मार्गदर्शकहरूलाई धन्यवाद प्रकट गरिन्। उनले आफ्नो नवीन प्रकाशित पुस्तकबाट सुन्दर कविता वाचन गरिन्। कवि-पत्रकार अनि जनसम्वाद ओनलाइन पत्रिकाका सम्पादक शैलेन्द्र समदर्शीले कार्यक्रमलाई सुन्दर ढङ्गमा सञ्चालन गरेका थिए। उनले कवि योगिता राईको परिचय राख्दै उनका योदानहरूको चर्चा गरे। समदर्शीद्वारा नै स्वागत भाषण राखिएको थियो भने उनैले धन्यवाद ज्ञापन पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement