८ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा मंगलवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा डीएसए-ले गोरुबथान एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक भुजेल र बिक्की थापाले १-१ गोल गरे। यसरी नै गोरुबथान एफसी-बाट प्रणय राईले १ गोल गरे। डीएसए-का अभिषेक थापालाई प्लेयर अव् द म्याच चयन गरियो। बुधवार खेलिने पहिलो सेमिफाइनल म्याचमा जंक्शन स्टार, सिलगढ़ी र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।