गान्तोक: सिक्किमको धारा ३७१एफ विरूद्ध बोल्ने सुमन्त कुमार गुप्तको पक्राउपछि धेरै कुराको खुलासा भएको छ। आज गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुराको खुलासा गरेका हुन्। दिल्लीको जन्तर मन्तरमा सिक्किमको पुरानो कानून ३७१एफ विरूद्ध बोल्ने सुमन्त कुमारलाई प्रत्यक्ष वा अप्रत्येक्षरूपमा सहयोग गर्ने राज्यका पाँच जनाको नाम उनले बताएका छन्। उनले बताए अनुसार एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नाल, सिक्किम बिहारी जागरण मञ्चका महासचिव बिरेन्द्र प्रसाद, डा. बीके प्रसाद, प्रेम गोयल र सिक्किम सुरक्षा समितिका सदस्य मदन तामाङ रहेका छन्। दिल्लीमा धरना प्रदर्शन गरिरहेका आरोपी गुप्तलाई आर्थिकरूपमा सहयोग गर्ने पनि सिक्किमका केही मानिसहरूले आश्वासन दिएको आरोपीले केरकारको क्रममा पुलिसलाई बताएको एसपीले पत्रकारहरूलाई जानकारी गराए। उनको भनाइ अनुसार आरोपी गुप्तलाई दिल्लीबाट गत १ नोभेम्बरको दिन सिक्किम ल्याइएको थियो। सदर थानामा पीआई अभिनाष लामीछानेको नेतृत्वमा गएको टोलीले लगभग ५० दिन देशको विभिन्न राज्य घुमेपछि अन्ततः मोबाइलको लोकेसन मार्फत दिल्लीबाट पक्राउ गर्न सफल भएको उनको भनाइ रहेको छ। उनको भनाइ अनुसार गुप्तलाई सहयोग गर्ने यी पाँच जनालाई पुलिसले हिजो मात्र थानामा बोलाएर केरकार गरेको र फेरि पनि केरकारको निम्ति बोलाउन सकिने बताए। सिक्किमबाट आरोपी गुप्तलाई सात सय भन्दा अधिकले कल गरेर सहयोग गर्ने साथै समर्थन गरेको गुप्तले पुलिसलाई जानकारी गराएको छ। उनले थप जानकारी गराए अनुसार यो मुद्दा अन्य मुद्दाहरू भन्दा निकै चुनौतीपूर्ण रहेको थियो। तर सिक्किम पुलिस साथै सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको कारण आरोपीलाई पक्राउ गर्न सफल भएको हो।राज्यको शान्ति सृङखला भङ्ग गर्नको साथै सामुदायिक सदभावना बिथोल्ने प्रयास गरेकोमा गत ९ सेप्टेम्बरको दिन सामाजिक संस्थाका सद्सय लेन्डुप भोटियाले सदर थानामा मुद्दा दर्ता गरेका थिए। हाल आरोपी गुप्तलाई दस दिनको पुलिस हिरासतमा लिएको छ भने उनीविरूद्ध आईपीसीको धारा १५३, ५०५ र ३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ। यदि दसदिन भित्र पनि अनुसन्धान पुरा हुन नसकेको खण्डमा अझ उनलाई केही दिनसम्म हिरासतमा लिन सकिने सम्भावना रहेको लेप्चाले जानकारी गराए।