“सरकारसंग मिलेर काम गर्दा सरकारले पर्जापट्टा पनि घरमा नै आएर दिनु सक्दोरहेछ: अनित थापा
दार्जिलिङ: आज दार्जिलिङ जिल्ला अन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिमा पर्ने आलुबारीका १३५ घरलाई पर्जा पट्टा प्रदान गरिएको छ। आजदेखि १३५ परिवारहरू आफू बसेको जमीनको मालिक भएको छ। पर्जा पट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ अनित थापाले भने, “हाम्रो घर हाम्रो पसिनाको कमाईको घर हो। आफू बसेको घर, घरमा लागेको रड, सिमेन्ट, बालुवा आफ्नो हो तर गोर्खाको दुर्भाग्य जुन जमीनमाथि घर बसालिएको छ त्यो जमीन आफ्नो छैन। जबसम्म जमीनको मालिकाना हक हामी पाउँदैनौं तबसम्म हामी हाम्रो हक अनि अधिकारदेखि वञ्चित रहन्छौं। हामी असुरक्षित रहन्छौं। गोर्खालाई अधिकार दिलाउन अनि सुरक्षा दिनु नै जमीनको अधिकार हुनु आवश्यक छ। यही दिशातर्फ हामीले काम गर्यौं। सरकार समक्ष तर्क राख्यौं अनि न्याय माग्यौं। सरकारले हाम्रो मागलाई गम्भीरतापूर्वक लिए। आज त्यसैको फलस्वरूप १३५ परिवारले आफ्नो जमीनको मालीकाना हक पाएका छन्।”

अनित थापाले अझ भने, “सरकारसंग मिलेर काम गर्दा सरकारले पर्जापट्टा पनि घरमा नै आएर दिनु सक्दोरहेछ भन्ने प्रमाण दिएको छ। म सरकारलाई धन्यवाद दिन्छु।”
सभासद प्रमोस्कर ब्लोनले उपस्थित सभालाई भने, “पर्जापट्टा पाएको कारण अब मृत आफन्तलाई गाड्नु पर्दा पनि अनुमति मागी रहनु पर्ने छैन।”
कुलदीप सुब्बाले प्रसन्न भएर पर्जापट्टा देखाउँदै भने, “अब बल्ल लाग्यो म मेरो आफ्नै ठाउँको हुँ भन्ने। मेरो जमीन अब मेरो पक्का भयो। अरु नेता आएर पट्टा दिन्छु भन्थे, अनित थापा त पर्जा पट्टा लिएर पो आइपुग्नु भयो। अनित थापालाई धन्यवाद छ।”

कार्यक्रममा क्षेत्रका सभासद उदय देवानको विशेष उपस्थिति रहेको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावी घोषणा पत्रमा जमीनको मालिकना हक दिलाउने मोर्चाको प्राथमिकता रहेको छ भनेर घोषणा गरेका थिए।