गान्तोक: सिक्किम सरकार राज्यवासीहरूको लम्बित मागहरू पुरा गर्ने पक्षमा नरहेको आरोप हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भूटियाले लगाएका छन्।सिक्किमेहरूको मागलाई पूरा गर्न एउटा इमान्दार विकल्पको खॉंचो रहेको र हाम्रो सिक्किम पार्टी विकल्प रहेको बताएका छन्।भोटियाले आज जारी एउटा प्रेस विज्ञप्तिमा उक्त कुरा भनेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले हालैमा राष्ट्रपतिको भ्रमण अवधि लिम्बू-तामाङको सीट आरक्षण र छुटेका १२ समुदायको जनजातिको मान्यता मामिला उठाएका थिए, जसलाई भोटियाले भोट ब्याङ्क पोलिटिक्स ठहर गरेका छन्। उनले सरकार उक्त लम्बित मागहरू पूरा गर्ने पक्षमा नरहेको आरोप लगाउॅंदै सरकारको एकमात्र ध्येय जनतालाई दिग्भ्रमित गरेर भोट जीत्नु रहेको बताएका छन्।उनले लिम्बू र तामाङको सीट आरक्षणको निम्ति सर्वप्रथम फर्मूला तयार गरेर त्यसलाई विधेयक अथवा प्रस्तावको रूपमा विधानसभामा पारित गर्नु पर्छ भनी बताएका छन्। उक्त फर्मूला केन्द्रमा पठाएपछि त्यसलाई सिक्किममा लागू गर्न लगाउनु पर्छ, तर यसो गर्नुको साटो आफुहरू उक्त मागप्रति इमान्दार रहेको ढोङ गरिरहेको उनले आरोप लगाएका छन्। उनले सीट आरक्षणको निम्ति धारा ३३२को वकालत गर्नु धारा ३७१एफ को उल्लंघन रहेको र बीएल सीटको निम्ति खतरा रहेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।