सोनादा; पहाडको पहिलो जिरो वेस्ट भिलेज सोनादा क्षेत्र अन्तर्गत राजाहट्टा बस्तीपछि दोस्रो जिरो वेस्ट भिलेज बन्यो आठ माइल नयाँ बस्ती। गैर सरकारी संस्था टिडीको सक्रियतामा नयाँ बस्ती जिरो वेस्ट अर्थात् फोहोरमुक्त गाउँ बनेको बताइएको छ। प्राय: तीन महिनाको अथक प्रयासले नयाँ बस्ती जिरो वेस्ट भिलेज बनाउन सफल भएको टिडी प्रमुख उत्सव प्रधानले बताएका छन्। सोनादा-पचेङ समष्टि सभासद अनोश थापाको मुख्य आतिथ्य अनि टुङ-सन्त मेरिज समष्टि महासचिव ललित मुखियाको विशिष्ट आतिथ्यमा समस्त आठ माइल, नयाँ बस्तीका बासिन्दासँगै टिडी होमस्टेमा आएका देशी-विदेशी पर्यटकहरूको उपस्थितिबीच अतिथिद्वयको बाहुलीद्वारा राजमार्ग 55 देखि नयाँ बस्ती जाने दुइतिरको बाटोको मुखमा निर्माण गरिएको प्रवेशद्वारको विधिवत उदघाटन गरियो। उदघाटन कार्यक्रमपछि सभासद अनोश थापा अनि टुङ-सन्तमेरिज समष्टि सभासद नुरी शेर्पालाई प्रतिनिधित्व गरेर आएका समष्टि महासचिव ललित मुखिया लगायत पर्यटक अनि गाउँलेहरुले नयाँ बस्ती गाउँ भ्रमण गरे। यसपछि गाउँबीच टिडीका फोहोर प्रबन्धन टोलीद्वारा छोटो अन्तरक्रियात्मक कार्यक्रम आयोजन गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीएका कार्यकारी सभासद अनोश थापाले पर्यावरण संरक्षण तथा स्वच्छ परिवेशका लागि फोहोर प्रबन्धनको महत्त्वबारे बताए। यसैगरी नयाँ बस्तीको सुन्दरतालाई हेरेर गाउँमा होमस्टे व्यवसाय आरम्भ गर्न सकिने सम्भावनाबारे सुझाव दिँदै जीटीएले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता गरे।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा टुङ-सन्तमेरिज समष्टि महासचिव ललित मुखियाले टिडीको जिरो वेस्ट आन्दोलनको प्रशंसा गर्दै यस आन्दोलनमा व्यक्तिगत रुपमा सक्दो सहयोग पुर्याउने वचन दिए। कार्यक्रममा उपस्थित सबैलाई जिरो वेस्टको शपथ ग्रहण गराइयो भने अतिथिद्वयलाई टिडीद्वारा उत्पादित प्लास्टिकमुक्त दैनिक उपयोगी सामाग्रीहरु भेटस्वरुप प्रदान गरियो।