कोलकता: तृणमूल कङ्ग्रेसका एकजना विधायकले मुख्यमन्त्री ममता ब्यानर्जीको तुलना दुर्गा मातासॅंग गरेका छन्। तिनको नाम अजीत माइती हो। एकदिन अघि मेदनीपुर फेडरेशन हलमा पेन्शनर्स एसोसिएसनलाई सम्बोधित गर्दै गरेको एउटा भिडियो भाइरल भएको छ जसमा तिनले ममता ब्यानर्जीलाई बंगालको दुर्गा बताएका छन्। मुख्यमन्त्रीले दुर्गा पूजाको निम्ति यति ठूलो राशि अनुदान दिएको बताउॅंदै यदि कसैले मुख्यमन्त्रीलाई कलङ्कित गर्ने प्रयास गर्छन् भने उसले उचित फल भोग्नु पर्नेछ भनी उनले बताएका छन्।
यो भिडियो सोशियल मिडियामा भाइरल भएपछि तृणमूल विधायकको बयानको चौतर्फी आलोचना शुरू भएको छ। हिन्दी देवी देवतासॅंग ममता ब्यानर्जीको लगातार भइरहेको तुलनालाई लिएर तृणमूल नेता सदैव प्रश्नको घेरामा पर्ने गर्छन्। यस अघि मदन मित्राले ममता ब्यानर्जीको तुलना शारदा माता र सिस्टर निवेदितासॅंग गरेका थिए। राज चक्रवर्तीले तिनलाई क्रिकेटर सचिन तेन्दुलकर जस्तै भगवान र लता मंगेशकर जस्तै पूजनीय बताएका थिए।