६ नोभेम्बरः आईसीसी टी२० क्रिकेट वर्ल्ड कपमा नीदरल्याण्डले ठूलो उलटफेर गर्दै दक्षिण अफ्रिका विरुद्ध १३ रनले जीत हासिल गऱ्यो। यस हारको साथै दक्षिण अफ्रिका ट्रफी जित्ने होड़बाट बाहिर भयो। नीदरल्याण्डको यस जीतले भारत चाहिँ आज जिम्बाब्वे विरुद्ध हुने म्याच अघि नै ४ वटा म्याचमा ६ पोइण्टको साथ असल नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्यो। अब ग्रुप २-मा बंग्लादेश र पाकिस्तानबीच खेलिने म्याचको विजेताले भारतसँग सेमिफाइनलमा स्थान बनाउनेछ कारण यी दुई टीमसँग अहिले ४-४ पोइण्ट रहेको छ। ट२० वर्ल्ड कपको सुपर १२ राउण्डको म्याचमा नीदरल्याण्डले आज टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १५८ रनको चुनौतीपूर्ण स्कोर बनायो। टीमलाई आज दुई ओपनर स्टेफन मेबर्ग (३० बलमा ३७ रन, ७ वटा चौका) र म्याक्स ओडोड (३१ बलमा २९ रन)-ले पहिलो विकेटको निम्ति ८.३ ओभरमा ५८ रनको साझेदारी गरी टीमलाई सामान्य धीमा तर ठोस शुरुवात दिलाए। यी दुईजना आउट भएपछि टम कूपर (१९ बलमा ३५ रन, २ वटा छक्का र २ वटा चौका) र कोलिन एकरमेन (२६ बलमा अविजित ४१ रन, ३ वटा चौका र २ वटा छक्का)-ले द्रुत रन बटुल्दै टीमलाई १५८-को स्कोरसम्म पुऱ्याए। दक्षिण अफ्रिकी बलरहरूमा केशव महाराजले २ विकेट लिए।

जवाफमा दक्षिण अफ्रिकाले शुरुदेखि नै विकेट गुमाउन थाल्दा नीदरल्याण्डका बलरहरूले म्याचलाई नियन्त्रणमा ल्यायो। दक्षिण अफ्रिकाको शीर्ष क्रममा सबैले असल शुरुवात गरे पनि कसैले ठूलो ईनिंग्स खेल्न सकेनन्। यसैकारण टीमले अन्तमा २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो। राइली रुसोले २५, हेनरिक क्लासेनले २१, कप्तान टेम्बा बावुमाले २० र एडन मार्करमले १७ रन बनाए। नीदरल्याण्डका बलरहरूमा ब्राण्डन ग्लोवरले ३ विकेट लिए। यसबाहेक फ्रेड क्लासेन र बास डी लीडले २-२ विकेट हासिल गरे। कोलिन एकरमेनलाई प्लेयर अव् द म्याच चयन गरियो।