५ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा जंक्शन स्टार, सिलगढ़ीले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा शनिवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा जंक्शन स्टारले रिम्बिक लोधोमालाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापा, गणेश लिम्बु र विक्रमले गोल गरे। जंक्शन स्टारका गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिस र किशोर संघ, सिलगढ़ीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।