कालचिनी – कालचिनी ब्लक कृषि विभागको पक्षबाट कालचिनी खण्डको खेतीपाती हुने ग्राम पञ्चायत क्षेत्रहरूमा कृषकहरूलाई समेटेर खेतबारीमा पराल सल्काउन र खेती उठाएपछि बारीमा आगो झोस्ने परम्परा बन्द गरिनुपर्ने आदि विषयहरूलाई लिएर सचेतना कार्यक्रम सम्पन्न भइरहेको कालचिनी ब्लक सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले जनाएका छन्।
आज कालचिनी खण्डको मेन्दाबारी ग्राम पञ्चायत अन्तर्गत पर्ने दक्षिण मेन्दाबारी बस्तीमा कालचिनी ब्लक सहकृषि अधिकारी प्रबोदकुमार मण्डल लगायत अन्यान्य अधिकारीहरूको उपस्थितिमा स्थानीय कृषकहरूको खेतबारीमा पुगेर सहकृषि अधिकारीले ह्यान्डबिल र पोस्टरहरूको साथमा कृषकहरूलाई सचेतना गराएको थियो।
धान पाकेर त्यसलाई काटेपछि धेरैजसो कृषकहरूले खेतमा छोड़िएको परालमा आगो सल्काउने चलन रहेको तर यसले वातावरणलाई प्रदुषित मात्र नगरेर यस प्रकारको अभ्यासले माटोको गुणवत्ता क्षमतालाई पनि समाप्त गर्ने भएकोले बारीमा आगो नसल्काएर बरु नरुवा र पराललाई बारीमा नै सड़न दिए यसले माटो मलिलो बनाउनको साथै जैविक मल तयार हुने र यसबाट च्याउ खेती पनि राम्रो हुने आदि विषयमा सचेतना गरिएको सहकृषि अधिकारी प्रबोद कुमार मण्डलले थप जनाएका छन्।