४ नोभेम्बरः भारतीय फूटबलका दिग्गज डिफेण्डर रबिन गुरुङले शुक्रवार पेशादार फूटबलबाट सन्न्यासको घोषणा गरे। आफ्नो स्वर्णिम करियरमा इण्डियन सुपर लीग (आईएसएल) र आई लीगका नामी-दामी क्लबहरूका जर्सी लगाएर मैदानमा राज गर्ने रबिनले आज सोशल मीडियाको माध्यमले पेशादार फूटबलबाट सन्न्यास लिएको घोषणा गरे। सिक्किमको वेष्ट गेजिंग निवासी 30 वर्षीय रबिनलाई गत केही सालदेखि दाहिने घुँड़ाको चोटले सताइरहेको थियो। अन्तमा गएर त्यही चोट नै उनको सन्न्यासको कारण बन्यो। राष्ट्रिय स्तरमा ओएनजीसी-बाट पेशादार करियरको शुरुवात गरी शिलंग लाजोंग, नर्थ ईष्ट युनाइटेड एफसी, ईष्ट बेंगल र जमशेदपुर एफसी जस्ता शीर्ष क्लबहरूका प्रतिनिधित्व गर्ने रबिन अब आफ्नो स्थानीय क्लब रेड पाण्डाको साथमा काम गर्न चाहन्छन्। यसको साथमा उनको नयाँ खेलाड़ीहरू जन्माउन ग्रास रूट लेभलमा काम गर्ने योजना पनि रहेको छ। द रिपब्लिक इण्डियन्स-सँग बातबीचको क्रममा रबिनले आफ्नो चोटबारे भने, नर्थ ईष्ट युनाइटेड एफसी-बाट आईएसएल-मा खेल्दा नै मेरो दाहिने घुँड़ामा चोट लागेको थियो। त्यस समय चोट लिएर नै मानसिक दृढ़ताको साथ खेलमा हिस्सा लिएको थिएँ। त्यसपछि चोटको उपचार गराए पनि सम्पूर्ण रूपले निको भएको छैन। अहिले पनि चोटको समस्या रहेको हुनाले मैले पेशादार फूटबल करियरबाट बिदा लिने फसेला गरे। मेरो पेशादार करियरमा मलाई साथ अनि समर्थन प्रदान गर्ने मेरा समस्त साथी खेलाड़ीहरू, प्रशिक्षकहरू, शुभचिन्तकहरूलाई म धन्यवाद जनाउन चाहन्छु। पेशादार फूटबलबाट बिदा लिए पनि म यस खेलमा सामेल रहनेछु अनि युवा खेलाड़ीहरूका हितमा कार्य गर्न जारी राख्नेछु।