गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूलाई भारतीय जनता पार्टी (भाजपा), सिक्किमले सिक्किममा न्यानो स्वागत जनाउँदै सिक्किमको हितमा उद्घाटन तथा शिलान्यास हुन गइरहेका विभिन्न पूर्वाधारको निम्ति सिक्किमे जनतालाई अग्रिम बधाई एवं शुभकामना दिएको छ। यसै गरी, भाजपा सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदी एवं केन्द्रिय सड़क एवं राजमार्ग मन्त्री नीतिन गडकरीप्रति कृतज्ञता व्यक्त गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रको भाजपा सरकार विगत ८ वर्षमा सिक्किममा यातायात व्यवस्थालाई दुरूस्त गर्न अनवरत ढंगमा लागिपरेको छ जसको फलस्वरूप सेभोक रम्फू रेल सम्पर्क, वैकल्पिक राजमार्गको निर्माण, राजमार्गको संख्यामा अभूतपूर्व बढ़ोत्तरी साथै राष्ट्रिय राजमार्ग १० एमा विभिन्न आवश्यक पूर्वाधारहरू विकसित गरिसकेको छ। यसै क्रममा भोलि राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट रम्फूमा ११०० मीटर लामो अटल सेतु अनि टोपाखानीमा नवनिर्मित वैकल्पिक सुरुङमार्गको उद्घाटन हुन गइरहेको छ।
लगभग ५६ करोड़को लागतमा बनेको अटल सेतु अनि लगभग २९ करोड़को लागतमा बनेको वैकल्पिक सुरुङमार्ग सिक्किमको यातायात व्यवस्थामा माइलखुट्टी साबित हुने प्रदेश भाजपाले विश्वास व्यक्त गरेको छ।
रम्फूमा नवनिर्मित वृहत सेतुको नामाकरण हेतु सर्वप्रथम भाजपा सिक्किमले यसलाई पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मृतिमा “अटल सेतु” भनेर प्रस्तावित एवं प्रचलित गर्दै आएको विज्ञप्तिमा बताइएको छ। साथै पार्टी प्रतिनिधिहरूले राज्यपालसमक्ष यसको निम्ति पहल गर्न लिखित ज्ञापन पनि दिएको थियो। यसको फलस्वरूप राज्य सरकार र केन्द्र सरकारले उक्त सेतुको नाम अब आधिकारिक रूपमा “अटल सेतु” को रूपमा अनुमोदन गरिसकेको छ। यसको निम्ति भाजपा सिक्किमले राज्य सरकार अनि केन्द्र सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ।

सीमान्त राज्य सिक्किमको समग्र विकासमा स्वर्गीय अटलजीको योगदान अनि प्रतिबद्धता उल्लेखनीय थियो। वर्ष २००३ मा उनको सिक्किम भ्रमणको अवधिमा उनले राज्यको समग्र विकासको निम्ति विस्तृत रूपरेखा तयार गर्दै हवाई अड्डा, रेलमार्ग अनि वैकल्पिक राजमार्गसँग जोड्ने अवधारणा अनि सपनालाई रेखांकित गरेका थिए जसको फलस्वरूप आज सिक्किमले पहिलो हवाई अड्डा, रेलमार्ग अनि वैकल्पिक सड़क मार्ग साथै सीमान्त क्षेत्रहरूमा सामरिक दृष्टिले व्यापक विकासका माइलखुट्टी अनि उपलब्धिहरू हासिल गरिरहेको छ। स्वर्गीय अटलजीको स्मृतिमा रम्फूस्थित ११०० मीटर लामो पूलको नामाकरण सिक्किमको तर्फबाट उहाँलाई साँचो श्रद्धाञ्जलि बनेको बताइएको छ।