कोलकाता: मतदाता सूची संशोधन कार्य पश्चिम बङ्गालमा ९ नोभेम्बरदेखि शुरु हुनेछ, जुन ८ दिसम्बरसम्म जारी रहनेछ। यसै सन्दर्भमा बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको छ। आउँदो वर्ष पञ्चायतको निर्वाचन हुन लागेकोले यस वर्ष मतदाता नामावली परिमार्जनको कामले निकै महत्व राखेको प्रदेश निर्वाचन आयोग स्रोतले जनाएको छ। संशोधन कार्य प्रारम्भ भएपछि बुथ लेभल अफिसरहरू प्रत्येक शनिबार र आइतबार प्रत्येक विधानसभा क्षेत्रका सबै बुथहरूमा उपस्थित हुनेछन् र सबै प्रकारका आवेदनहरू स्वीकार गरिनेछन्। १ जनवरी २०२३ वा सो भन्दा पहिले १८ वर्ष उमेर पूरा गरेका युवाहरूले आफ्नो नाम मतदाता सूचीमा दर्ता गर्न सक्छन्। अन्तिम तथा संशोधित मतदाता नामावली जनवरी ५, २०२३ मा प्रकाशित हुनेछ।
यसैबीच, तृणमूलसहित भाजपा र सीपीआई (एम) ले मतदाता सूची संशोधन कार्यलाई गम्भीरताका साथ लिएका छन्। सबै दलका नेतृत्वले दरखास्त स्विकार्न पदाधिकारी आउने दिन आ–आफ्ना प्रतिनिधिलाई बुथमा राख्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएका छन्। जहाँसम्म संगठनात्मक शक्तिको सवाल छ, तृणमूल कांग्रेस बुथहरूमा प्रतिनिधित्वको हिसाबले आफ्ना प्रतिद्वन्द्वीहरू भन्दा धेरै अगाडि छ। सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले आ–आफ्ना माग राखेका छन्। भाजपा नेता शिशिर बाजोरियाले ठूलो संख्यामा मृतक मतदाताको नाम पनि मतदाता सूचीमा रहेको आरोप लगाए। राज्यमन्त्री अरुप विश्वासले प्रत्येक योग्य मतदाताको नाम मतदाता सूचीमा समावेश गर्न निर्वाचन आयोगमा अपिल गरेको बताए। उनले भने, ‘धेरै राज्यमा धेरै योग्य मतदाताको नाम छुटेको देखिएको छ। यही राज्यमा परिमार्जनको काम शुरु हुन्छ, त्यसैले सबै योग्य मतदाताको नाम सूचीमा समावेश गर्न माग गरेका छौंl’ मृतक मतदाताको मुद्दा पनि माकपाले उठाएको थियो।