गान्तोक: नेपाली भाषी ईसाई सम्पदायका अन्तर्राष्ट्रिय संस्था ग्लोबल नेपाली स्पिगिङ क्रिश्टियन् फेलोसिप द्वारा आयोजित तीन दिवसीय नेपाली ईसाई संगति तेस्रो लिडर्स कम्फरेन्स पालजोर स्टेडियम रोड स्थित ईपीसीएस चर्चको सभागारमा आरम्भ भयो। यस सम्मेलनमा छिमेकी राष्ट्र नेपाल, भूटान सहित अमेरिका, इंगल्याण्ड, अस्ट्रेलिया, इजरायल, हङ्कङ, जापान, साउथ कोरिया, होल्याण्ड, मेलसिया, फ्रान्स, कुवेत आदि राष्ट्रहरूमा बसोबास गर्ने नेपाली ईसाई सम्प्रदायका लगभग पाँच सय प्रतिनिधिहरू सामेल रहेका छन। उद्घाटन समारोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै कृषि, बागवानी, पशुपालन एवं मत्सपालन मन्त्री एलएन शर्माले सिक्किमले यसरी सम्मलेन आयोजन गरेर विश्वलाई ‘वसुधैव कुटुंबकम्’ को दर्शनलाई अभिभूत गरेको बताए। उनले सिक्किममा विद्यमान सम्प्रदायिक सद्भावनाको फलस्वरुप यसरी ईसाई सम्प्रदायले सम्मेलन आयोजन गर्न पाएको बताउँदै सिक्किमेली समाजको मुल धारामा रहेर ईसाई सम्प्रदायले पनि राज्यको समग्र विकासमा योगदान दिइरहेको बताए। मुख्यमन्त्री पीएस तामाङले यस सम्मेलनमा सहभागी बनेका सम्पुर्ण प्रतिभागीहरूलाई शुभकामना सन्देश पठाएको जानकारी दिए। उनले राज्यमा व्याप्त शान्ति एवं आपसी भातृभावलाई कायम राख्न वर्तमान सरकार निष्ठापूर्वक दायित्व निर्वहन गरेको बताए। सो उद्घाटन समारोहमा आफ्नो स्वागत सम्बोधन राख्दै आयोजक समितिका अध्यक्ष पत्रुस गुरूङले यसभन्दा पूर्वमा सिलगढ़ी तथा काठमाण्डौंमा भएको तथा तेस्रो प्रकरण सिक्किमले आयोजन गर्ने पाएकोमा हर्ष व्यक्त गरे। सिक्किमको सुन्दरतासँगै तीन दिवसीय सम्मेलनबाट धेरै आध्यात्मिक ज्ञान प्राप्त गर्ने अवसर प्रदान गरेको बताए। कार्यक्रमको दोस्रो भाग सञ्चालन गर्दै रेभरेंट नारयान जोशुवा शर्माले हरेक तीन वर्षमा एकपल्ट यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गरेको तथा ईसाई भित्र पनि विभिन्न सम्प्रदाय बीच एकता एवं आपसी एकजुटता ल्याउने अभियान रहेको बताए। सो अवसरमा स्मारिका पनि लोकार्पण गरे।