सांसद राजु बिष्टद्वारा प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्री हरदीपसिंह पुरीप्रति आभार प्रकट
सिलगढी: कालेबुङ नगरपालिका र मिरिक नगरपालिकामा सबै घरपरिवारका निम्ति नलद्वारा पिउने पानी उपलब्ध गराउन अम्रुत २.० मिशन परियोजनाहरूलाई मञ्जुरी दिएको संसाद राजु बिष्टले बताएका छन्l यसको निम्ति उनले दार्जीलिङ पहाड़का जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय आवास एवं शहरी मामिला मन्त्री हरदीपसिंह पुरीलाई आभार प्रकट गर्दै धन्यवाद जनाएका छन्l ‘११ अगस्त २०२२ मा मन्त्रीलाई हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनता पश्चिम बङ्गाल सरकारद्वारा अचाहिँदो ढ़िलासुस्ती गरिनुका कारण पिउने पानीका सुविधाहरूबाट वञ्चित हुनु नपरोस् भनी सुनिश्चित गर्न अनुरोध गरेको थिएँ’, सांसद राजु बिष्टले प्रेस विज्ञप्ति जारी गरेर यसो भनेका छन्। उनले भने, ‘भारतमा सबैभन्दा धेरै वर्षा हुने क्षेत्रहरू मध्ये एक भएता पनि दार्जीलिङ अनि कालेबुङ जिल्लाका नगरहरू पिउने पानीको अत्यधिक अभावले ग्रस्त छन् भन्ने जानकारीसमेत मैले उहाँलाई गराएको थिएँ। यस सन्दर्भमा, उहाँलाई (क) कालेबुङ नगरपालिका, (ख) खरसाङ नगरपालिका, अनि (ग) मिरिक नगरपालिकामा अम्रुत मिशन परियोजना मार्फत सबै घरलाई पिउने पानी उपलब्ध गराउन अनुरोध गरेको थिएँl’

परियोजनाहरूलाई मञ्जुरी दिएकोमा उनले खुशी प्रकट गरेका छन्l यसबारेमा मन्त्री हरदीपसिंह पुरीबाट पत्र प्राप्त भएको बताउँदै उनले भने, ‘जसमा (पत्रमा) उनले वर्तमान अम्रुत २.० मिशनअन्तर्गत, हामीले रु.१९९ करोड़को लागतमा मिरिक नगरपालिकाका लागि जल आपूर्ति परियोजना तथा रु.१९६.५७ करोड़को लागतमा कालेबुङ नगरपालिकाको लागि एउटा अर्को जल आपूर्ति योजनालाई मञ्जुरी दिएका छौँl’ सांसद राजु बिष्टले अझ भने, ‘म मिरिक नगरपालिका अनि कालेबुङ नगरपालिकाका प्रशासकहरूलाई अनुरोध गर्न चाहन्छु कि उनीहरूले बिना कुनै भ्रष्टाचार यी कोषको समुचित प्रयोग र उपयोग सुनिश्चित गर्न ठोस कदम चाल्दै आउँदो दुई वर्षभित्रमा उपयुक्त पिउने पानी पूर्वाधारको निर्माण गर्ने छन्। खरसाङ नगरपालिकालाई पनि अम्रुत २.० योजनाअन्तर्गत समावेश गरियोस् भनी सुनिश्चित गर्नका लागि मैले केन्द्रीय सरकारसँग प्रयास जारी राखेको छु। मलाई विश्वास छ कि आउँदो केही महिनाभित्र यो काम पनि हुनेछl’ यसका अतिरिक्त, केन्द्रीय सरकारले ‘हर घर जल’अन्तर्गत अनेकौँ परियोजनाहरू अगाड़ि सारेको छ जसले ग्रामीण क्षेत्रका हरेक अनि प्रत्येक घरपरिवारलाई समेट्ने उनले बताएका छन्। ‘यी परियोजनाहरू दार्जीलिङ अनि कालेबुङ जिल्लाका पहाड़ी क्षेत्रहरूमा जीटीएद्वारा कार्यान्वित गरिँदैछ। म, स्थानीय समुदाय, एनजीओ, युवाहरु, सामाजिक कार्यकर्ताहरू, बुद्धिजीवीहरूसँग ती परियोजनाहरूको क्रियान्वयनमाथि नजर राख्न अनुरोध गर्दछु किनकि ती परियोजनाहरू तपाईंहरू सबैको फाइदाका लागि नै हुन्। केन्द्रीय सरकारद्वारा अगाड़ि सारिएका विभिन्न परियोजनाहरूबारे हामीले शुरुदेखि नै जिम्मेबारी बोध गर्नु अनि भइरहेका कामहरूको उच्चतम गुणस्तर सुनिश्चित गर्नु धेरै महत्त्वपूर्ण छ’, उनले भने।