कालचिनी – राज्य सरकारको पूर्वघोषित कार्यक्रम अनुसार आजदेखि पाँचौ चरणको दैलोमा सरकार शिविर शुरु हुने क्रममा कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत क्षेत्रमा दैलोमा सरकार शिविर सम्पन्न भयो। आज सम्पन्न दैलोमा सरकार शिविरमा गाउँले मानिसहरुको पातलो संख्या रहेको थियो भने शिविरमा मनरेगा बाहेक अन्य प्रायः १८ वटा भन्दा अधिक स्टलहरू जनताको परिसेवाको निम्ति राखिएको थियो।

आज प्रथम चरणको दैलोमा सरकार शिविरको निरीक्षण गर्न कालचिनी बीडीओ प्रशान्त बर्मन चुवापाड़ा क्षेत्रको ९ वटा कन्भेन्सनल र २ वटा मोबाइल क्याम्प मिलाएर जम्मा ११ वटा शिविरहरूको निरीक्षणमा निस्किएको थियो।
यस अघि प्रथम, दोस्रो, तेस्रो र चौथो चरणको दैलोमा सरकार शिविरहरुमा देख्ने लायकको भीड़ जमेको थियो भने आज सम्पन्न पाँचौ चरणको शिविरमा भने सन्तोषजनक भीड़ थिएन। यद्यपि अघिल्लो शिविरहरूबाट प्रायः धेरै मानिसहरुले सरकारी प्रकल्पको लाभहरु प्राप्त गरिसकेको बीडीओ कार्यालय सुत्रले जनाएका छन्। आगामी ३० नोभेम्बरसम्म जम्मा दुई चरणमा कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायत क्षेत्रमा दैलोमा सरकार शिविर सम्पन्न हुने कालचिनी बीडीओ कार्यालय सुत्रले जनाएका छन्।