कालचिनी – कालचिनी खण्डको राजाभातखावा पम्पु बस्तीस्थित श्री श्री गौशालामा आज गाई पूजन अर्थात गोपाष्टमी उत्सव भव्यरुपमा पालन गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले दिएका छन्। प्रत्येक बर्ष गौशालामा गोपाष्टमी पालन गर्दै आइरहेको र विगत दुई बर्ष कोरोना महामारीको कारण भव्यरुपमा गर्न नसकिएको तर यसपाली भने विधिपूर्वक गोपाष्टमी पालन गरिएको र आज गौमाता पूजन स्वरूप ५६ भोग चढ़ाईएको गौशाला कमिटीको पक्षबाट रामकुमार लामाले जनाएका छन्।

आज सम्पन्न गोपाष्टमी कार्यक्रममा राजाभातखावाका वरिष्ठ समाजसेवी दुर्गा चामलिङ लगायत कालचिनीबाट मारवाड़ी समाजसेवी उग्रसेन अग्रवाल लगायत अन्यान्यको उपस्थिति रहेको थियो। आज उक्त अवसरमा गौमाता श्रद्धालुहरू अलिपुरद्वार र कालचिनी क्षेत्रबाट विशेषरुपमा उपस्थित रहेको थियो भने बिहान जयगाउँ खोक्ला बस्ती स्थित संय्कृत गुरुकुलबाट पण्डित गुरु ध्रुव गुरागाँई लगायत गुरुकुल आश्रमका शिष्यहरूले गौमाता पूजन र सत्संग कार्यक्रम पनि सम्पन्न गरेको थियो। गोपाष्टमीको महत्व र गौरक्षाको विशेष चर्चा साथै श्रद्धालुहरूलाई भण्डारा एवम् गौमातलाई आज ५६ भोगको प्रसाद अर्पण गरिएको कार्यक्रमको संरक्षक मनोज झावर र नवीन झावरले जनाएका छन्।