१ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा जंक्शन स्टार सिलगढ़ीले आफ्नो म्याच जितेर क्वार्टर फाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा मंगलवार भएको म्याचमा जंक्शन स्टारले वरियर्स एफसी, तुलसीपाड़ालाई ६-४-ले पराजित गऱ्यो। विजेता टीमबाट सत्यम शर्माले ह्याट्रिक गरे। यसबाहेक सुब्रतो, देवा र गणेश लिम्बुले १-१ गोल गरे। यसरी नै वरियर्स एफसी-बाट अंकित राई, कुनाल थापा, सञ्जु कुजुर र कुनाल थापाले गोल गरे। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।