खरसाङ: सन् २००७ देखि २०१८ सम्मको बिजुली बत्तीको बिलमा पचास प्रतिशत छुट अनि कुनै पनि इन्ट्रेस तिर्नु नपर्ने र यो बिजुली बत्तीको बिलमा छुटको लागि अब द्वारे सरकारको क्याम्पमार्फत् सरकारले कार्य शुरु गर्ने भएको जानकारी भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले दिएका छन्। उनले बताए अनुसार बिजुली उपभोक्ताहरूलाई सरकारबाट दिएको छुट विषयमा जानकारी लिन र सही कुरा बुझ्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको पदाधिकारीहरूले खरसाङ महकुमा शासक र बिजुली विभाग खरसाङका डीई र कार्यकारी अभियन्तासित भेटघाट गरेका छन्। उक्त टोलीमा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव एंव मनोनित सभासद प्रमाण रसाईली, टाउन कमिटीको सभापति राजु शर्मा लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त प्रतिनिधि टोलीले बिजुली विभागका अधिकारीहरू र खरसाङ महकुमा शासकलाई भेट गरी बिजुलीको बील भुक्तान विषयमा जानकारी लिएका छन्। उक्त भेटघाटपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले २००७ देखि २०१८ सम्मको बिजुली बत्तीको बिल केवल पचास प्रतिशत मात्र दिनु पर्ने र पचास प्रतिशत छुट रहेको अनि कुनै इन्ट्रेस पनि दिनु नपर्ने बताएका छन्। उनले बिजुली बत्ती विषयमा भोलिदेखि नै हुने द्वारे सरकारको क्याम्पमा सबैले फारम भर्नु पर्ने बताएका छन्। यसको लागि जसको नाममा बील छ उसको आधार कार्ड र पुरानो बिजुली बत्तीको बील ल्याएर फारम भर्नु पर्ने बताएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले अझ बताए अनुसार भोलि बुधबारदेखि नै खरसाङ खण्ड विकास क्षेत्र र खरसाङ नगरपालिका क्षेत्रमा द्वारे सरकारको क्याम्प बस्ने र खरसाङ नगरपालिका क्षेत्रका लागि राज राजेश्वरी भवन र स्नो भ्युमा द्वारे सरकारको क्याम्प आयोजना गरिने भएकोले सबैले आएर फारम भरिदिने आह्वान् गरेका छन्।

प्रधानले अघि भने, हामीले आज बिजुली विभागका अधिकारीहरू र खरसाङ महकुमा शासकलाई भेट गरी बिजुली बत्तीको बील भुक्तान विषयमा सही जानकारी संकलन गरेको अनि जनताको हितमा पहल गर्न आह्वान् गरिएको छ। उनले भने, हामीले पहल गर्दै सही जानकारी संकलन गरेका छौं। हामीले अनुरोध पनि गरेका छौं कि जसले एकै किस्तामा पचास प्रतिशत तिर्न सके ठीकै छ तर कमान बस्तीतिरका जनताले सबै बील एकै किस्तामा भुक्तान गर्न नसक्ने र यसको लागि इन्स्टलमेन्टमा विस्तारै तिर्न सक्नु पर्ने प्रावधान राखिनु पर्ने प्रावधान बनाएको हुनुपर्छ भनी मांग गरेका छौं। उक्त टोलीमा भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, महासचिव एंव मनोनित सभासद प्रमाण रसाईली, खरसाङ टाउन कमिटीको सभापति राजु शर्मा लगायत अन्यहरू उपस्थित रहेका थिए।