खरसाङ: पश्चिम बंगाल सरकारका गृह तथा पहाडी मामिला राज्य मन्त्री विशाल लामाले शनिवार खरसाङ क्षेत्रका विभिन्न स्थानहरुको भ्रमण गरेर विभिन्न विकास कार्यहरुको समीक्षा गरेका छन्। उनले खरसाङ महकुमा अन्तर्गत करवीर र बागौडा क्षेत्रको भ्रमण गरी सो क्षेत्रमा भईरहेका विभिन्न विकास कार्यहरूको निरीक्षण गरेका छन्। भ्रमणका क्रममा मन्त्री विशाल लामाले सडक, खानेपानी, नाला तथा अन्य सार्वजनिक पूर्वाधारका कार्यहरूको अवस्थाबारे जानकारी लिएका थिए। उनले स्थलगत रूपमा सरकारी अधिकारीहरूसँग छलफल गरी कामहरू समयमै सक्न र गुणस्तर कायम राख्न निर्देशन पनि दिएका छन्। मन्त्री लामाले स्थानीयहरूसँग पनि भेट गरी उनीहरूको समस्या र विभिन्न गुनासोहरू धैर्यपूर्वक सुनेका थिए भने झट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्। स्थानीयहरूले सडक मरमत्ति, खानेपानी आपूर्ति तथा अन्य आधारभूत सुविधासँग सम्बन्धित समस्याहरू मन्त्री विशाल लामा समक्ष उठाएका थिए। मन्त्री विशाल लामाको खरसाङ भ्रमणको समय खरसाङका विधायक सोनाम लामा, जीटीएका मुख्य सचिव, सरकारी अधिकारीहरू तथा स्थानीयहरू पनि उपस्थित रहेका थिए।





