युक्रेन–रूसबीच छिट्टै सम्झौता हुने अपेक्षा
वासिङ्टन:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली क्षेत्रहरूमा भइरहेका सबै सैन्य आक्रामकता अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेको बताएका छन्। गत साता चीनमा पुटिनसँग भएको भेटवार्ताका क्रममा आफूले यस्तो प्रस्ताव राखेको जानकारी दिँदै ट्रम्पले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले युद्धको दायरा बढ्न सक्ने कुनै पनि कदम नचाल्न रूस र युक्रेन दुबै पक्षलाई अपिल गरेका छन्। फ्लोरिडामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव मार्क रुटेसँग भेटवार्ता गरेको भोलिपल्ट ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।
पुटिनप्रतिको ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई उनको कूटनीतिक रवैयामा आएको नयाँ फेरबदलका रूपमा हेरिएको छ। यसअघि चीनको सेन्जेनमा पुटिनसँग भेट हुँदा ट्रम्पले उनलाई ‘आफ्नो मित्र’ भनी सम्बोधन गर्दै न्यानो स्वागत गरेका थिए। उक्त भेटपछि ट्रम्पले पुटिनको पक्ष लिन सक्ने भन्दै युक्रेन र युरोपेली मुलुकहरू सशङ्कित बनेका थिए। यद्यपि, ट्रम्पले कुन–कुन क्षेत्रबाट सैन्य गतिविधि फिर्ता लिन भनिएको हो भन्ने विषय भने स्पष्ट पारेका छैनन्।
ट्रम्पको शान्ति सम्झौताको अपेक्षाका बाबजुद युद्ध रोकिने सङ्केत देखिएको छैन। बिहीबारमात्रै रूसको दक्षिणी क्रास्नोडार क्षेत्रस्थित एक तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा भीषण आगलागी भएको छ। पछिल्ला महिनाहरूमा युक्रेनले रूसी तेल प्रशोधन केन्द्रहरूमा चालकरहित विमान (ड्रोन) आक्रमण तीव्र पारेपछि रूसको कच्चा तेल प्रशोधन क्षमता ४५ प्रतिशतले घटेको जनाइएको छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी दिनमा रूसले युक्रेनमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको भन्दै नागरिकलाई सचेत रहन चेतावनी दिएका छन्।





