पक्की सडकभन्दा बलियो साबित
ताइपे: ताइवानले फालिएका पुराना रबर टायरको धुलो प्रयोग गरी कालोपत्रे सडक निर्माण गरेर नयाँ सफलता हासिल गरेको छ। परीक्षणका रूपमा बनाइएको उक्त सडक परम्परागत पक्की सडकभन्दा बलियो र टिकाउ साबित भएपछि ताइवानको राष्ट्रिय राजमार्ग विभागले यस्ता अन्य सडकहरू पनि बनाउने योजना अघि सारेको छ।
‘साइन्सडाइरेक्ट’ जर्नलमा प्रकाशित अध्ययनअनुसार ताइवानको राष्ट्रिय राजमार्ग विभागले सन् २००० को डिसेम्बर र २००१ को मे महिनामा रबर मिश्रित कालोपत्रे सडकका दुईवटा परीक्षण खण्ड निर्माण गरेको थियो। स्थानीय स्तरमै सङ्कलन गरिएका पुराना टायरलाई धुलो पारी अलकत्राको मिश्रणमा मिसाएर ती सडक बनाइएका थिए। दुबै खण्डमा रबरको मात्रा र बनावटको ढाँचा फरक–फरक राखिएको थियो।
सडक निर्माणपछि वैज्ञानिक तथा प्राविधिकहरूको टोलीले चार वर्षसम्म ती खण्डहरूको स्थलगत अनुगमन तथा मूल्याङ्कन गरेको थियो। अध्ययनका क्रममा रबर मिश्रित सडकले सामान्य कालोपत्रे तथा सिमेन्टका पक्की सडकको तुलनामा निकै राम्रो नतिजा दिएको पाइएको छ।
यो सफल परीक्षणसँगै ताइवानमा थुप्रिएका पुराना र बेकामे टायरहरूको दिगो व्यवस्थापन हुने र सडक निर्माणमा स्थानीय सामग्रीको प्रयोग बढ्ने अपेक्षा गरिएको छ।





