दार्जिलिङ: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमाप्रति अजय एडवाडर्सद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी ८७ वर्षीया आमा धनमाया तामाङको हिजो सिलगढीस्थित एक अस्पतालमा दुःखद निधन भएको छ। उहाँको निधनको खबरले शोकमा डुबेको तामाङ परिवारप्रति ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट अजय एडवर्ड्सले गहिरो दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री गोलेकी स्वर्गीय आमा धनमाया तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न इन्डियन गोर्खा जनशक्ति फ्रन्टका संस्थापक अध्यक्ष तथा निर्वाचित सभासद अजय एडवाडर्स, रुबेन प्रधान र राब्गे राई सिक्किमको सोरेङस्थित सिङलिङ गाउँमा रहेको उनको पैतृक निवास पुगेका थिए। यस अवसरमा उनीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत शोकसन्तप्त परिवारका सदस्यहरूसँग भेट गरी गहिरो समवेदना प्रकट गरे। आमा केवल एउटा सम्बन्ध मात्र होइन, उनी माया, ममता, त्याग र आशीर्वादको जीवन्त प्रतीक हुन् भन्दै आमाको साथ र माया गुमाउनु जीवनकै सबैभन्दा पीडादायी क्षणमध्ये एक हो। यस अपूरणीय क्षतिले परिवारमा पारेको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। यस दुःखद घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै स्वर्गीय धनमाया तामाङको दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् र वैकुण्ठमा बास पाऊन् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ भनी बताएका छन्।





