गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) लाई मातृशोक परेको छ। उहाँकी आमा धनमाया तामाङको ८७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ। विगत सात–आठ महिनादेखि उमेरजन्य तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका कारण अस्वस्थ रहँदै आउनुभएकी तामाङको सिलिगुडीस्थित एक निजी अस्पतालमा उपचारका क्रममा साँझ करिब ४ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सन् १९३९ मा जन्मिनुभएकी स्वर्गीय धनमाया तामाङ सिक्किमको सोरेङ जिल्लाअन्तर्गत सिङलिङ गाउँकी स्थायी बासिन्दा हुनुहुन्थ्यो। उहाँका श्रीमान् कालुसिंह तामाङको सन् २०२२ फेब्रुअरीमा नै निधन भइसकेको छ। सरल र मिलनसार स्वभावकी धनी तामाङले परिवारलाई सामाजिक तथा पारिवारिक मूल्यमान्यताका साथ अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। मुख्यमन्त्री तामाङले पनि सार्वजनिक मञ्चहरूमा आफ्नी आमाको त्याग, सङ्घर्ष र योगदानको स्मरण गर्दै आउनुभएको थियो। उहाँका मुख्यमन्त्री प्रेमसिंह तामाङसहित चार छोरा, तीन छोरी, नातिनातिना (विधायक आदित्य गोलेलगायत) र पनातिपनातिना छन्।
दिवङ्गत तामाङको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि सिलिगुडीबाट उहाँको जन्मथलो सोरेङ जिल्लाको सिङलिङ लगिएको छ। पारिवारिक तथा बौद्ध परम्पराअनुसार धार्मिक विधि पूरा गरी उहाँको गृहगाउँ सिङलिङमै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। अन्त्येष्टिमा परिवारजन, आफन्तजन, राज्यका मन्त्रीहरू, विधायक, विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको उपस्थिति रहने जनाइएको छ।
मातृशोकमा रहनुभएका मुख्यमन्त्री तामाङ र शोकसन्तप्त परिवारप्रति सिक्किमका राज्यपाल दुष्यन्त गौतमले गहिरो दुःख व्यक्त गर्नुभएको छ। राज्यपाल गौतमले शोक सन्देश जारी गर्दै जीवनमा आमाको स्थान सबैभन्दा पूजनीय हुने र आमा गुमाउनु कुनै पनि परिवारका लागि सबैभन्दा ठूलो पीडा भएको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।
यसैगरी, सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले पनि आफ्नो पार्टी अध्यक्ष तथा मुख्यमन्त्री तामाङ, उहाँका सुपुत्र विधायक आदित्य गोले र सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। विपक्षी दलहरू सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ), सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमलगायत विभिन्न सामाजिक सङ्घसंस्था तथा शुभचिन्तकहरूले पनि उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उहाँको निधनको खबरले सिङ्गो सिक्किम राज्य र दार्जिलिङ–डुवर्स क्षेत्रमा शोकको लहर छाएको छ।





