पाठेघरमा देखिने हरेक समस्या क्यान्सर हुँदैन, चिकित्सकले कसरी पहिचान गर्छन् खतरा?​

27508066-179d-4532-a9f0-0297d26eb66d

महिलाहरूमा महिनावारी अनियमित हुनु, तल्लो पेट दुख्नु, अत्यधिक रक्तस्राव हुनु वा महिनावारी सुकिसकेपछि पनि रगत देखिनु जस्ता समस्याले धेरैलाई चिन्तित बनाउने गर्छ। कतिपय महिलाहरूले यस्ता लक्षणलाई पाठेघरको क्यान्सरसँग जोडेर डराउने गर्छन्। तर, चिकित्सकहरूका अनुसार पाठेघरमा देखिने हरेक समस्या क्यान्सरको सङ्केत हुँदैन। पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पोलिप, हर्मोनको असन्तुलन तथा पाठेघरको भित्री तह बाक्लो हुनुले पनि यस्ता लक्षण देखिन सक्छन्।​प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. राखी शर्माका अनुसार महिनावारी सुकिसकेपछि योनिबाट रगत बग्नु, दुई महिनावारीको बीचमा रक्तस्राव हुनु वा लामो समयसम्म असामान्य रूपले रगत बगिरहनुलाई भने बेवास्ता गर्नु हुँदैन। यस्ता लक्षण देखिएमा तत्काल चिकित्सकको सल्लाहमा परीक्षण गराउनु आवश्यक हुन्छ। केवल लक्षण वा अल्ट्रासाउन्डको आधारमा मात्र पाठेघरको क्यान्सर पुष्टि नहुने भएकाले चिकित्सकले आवश्यकताअनुसार विभिन्न चरणमा परीक्षण गर्ने गर्छन्।​लक्षण र जोखिमका कारकहरू​पाठेघरको क्यान्सरको प्रमुख सङ्केत असामान्य योनि रक्तस्राव हो । यसका साथै कतिपय महिलामा तल्लो पेट दुख्ने, पेट भारी महसुस हुने वा पिसाबसम्बन्धी परिवर्तनहरू देखिन सक्छन्। जोखिमको मूल्याङ्कन गर्न चिकित्सकले महिलाको उमेर, तौल, महिनावारीको इतिहास, हर्मोनको अवस्था र पारिवारिक स्वास्थ्य इतिहास बुझ्ने गर्छन्।​विशेषगरी मोटोपना, टाइप–२ मधुमेह, मेटाबोलिक सिन्ड्रोम र लामो समयसम्म शरीरमा एस्ट्रोजन हर्मोनको प्रभाव बढी रहँदा पाठेघरको भित्री तह (एन्डोमेट्रियम) को क्यान्सर हुने जोखिम बढ्छ। त्यस्तै, पीसीओएस (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) का कारण नियमित ओभ्युलेसन नहुँदा, कहिल्यै गर्भधारण नहुँदा, बढ्दो उमेर तथा परिवारमा आनुवंशिक रूपमा क्यान्सरको इतिहास भएमा पनि जोखिम केही बढी हुन सक्छ।​कसरी गरिन्छ परीक्षण?​चिकित्सकले सुरुमा पाठेघरको तल्लो भाग (सर्भिक्स) को परीक्षण गरी घाउ, असामान्य परिवर्तन वा रक्तस्रावको अवस्था जाँच गर्छन्। त्यसपछि पाठेघरभित्रको अवस्था बुझ्न पेटमाथिबाट वा योनिमार्गबाट ‘पेल्विक अल्ट्रासाउन्ड’ गरिन्छ।​पाठेघरको क्यान्सर पुष्टि गर्न ‘एन्डोमेट्रियल बायोप्सी’ सबैभन्दा महत्त्वपूर्ण परीक्षण हो। यसमा पाठेघरको भित्री तहबाट तन्तु वा कोषिकाको सानो नमुना निकालेर प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) बाट जाँच गरिन्छ। आवश्यक परेमा चिकित्सकले क्यामेरा जडित पातलो नलीको सहायताले पाठेघरभित्र प्रत्यक्ष हेर्ने ‘हिस्टेरोस्कोपी’ प्रविधि पनि अपनाउँछन्। रोग कति फैलिएको छ भन्ने यकिन गर्न एमआरआई र सीटी स्क्यानसमेत गरिन्छ। समयमै सही परीक्षण र निदान हुन सकेमा उपचार सहज र प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ।

About Author

Advertisement