बर्लिन। युक्रेन युद्धका कारण पहिलेदेखि नै तनावपूर्ण रहेको रूस र ३२ देशको सैन्य गठबन्धन ‘नाटो’ बीच अब अन्तरिक्ष गतिविधिलाई लिएर नयाँ विवाद सुरु भएको छ। रूसले आगामी केही साताभित्रै पृथ्वीको कक्षमा परमाणु हतियारयुक्त उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने तयारी गरिरहेको समाचार बाहिरिएपछि नाटोले गम्भीर चिन्ता व्यक्त गरेको छ।
जर्मन सञ्चारमाध्यमका अनुसार नाटोका महासचिव मार्क रुटेले अन्तरिक्षबाट आउन सक्ने कुनै पनि खतराविरुद्ध गठबन्धनले आफ्नो पूर्ण प्रतिरक्षा गर्ने चेतावनी दिनुभएको छ। सोमबार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटवार्तापछि बोल्दै महासचिव रुटेले नाटोको सुरक्षा प्रतिबद्धता जमिन, आकाश र समुद्रमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभयो। उहाँले नाटो क्षेत्रको एक–एक इन्च भूमि र अन्तरिक्षसमेतको सुरक्षाका लागि आवश्यक सबै कदम चालिने बताउनुभयो। यद्यपि, रूसले वास्तवमै परमाणु हतियारयुक्त उपग्रह प्रक्षेपण गर्न लागेको हो वा होइन भन्नेबारे नाटो वा मस्को कसैले पनि आधिकारिक पुष्टि गरेका छैनन्।
जर्मनीका प्रसारण संस्था तथा पत्रपत्रिकाहरूले सैन्य एवं गुप्तचर स्रोतलाई उद्धृत गर्दै रूसले आगामी केही साताभित्र ‘स्पुतनिक–एस’ नामक उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको उल्लेख गरेका छन्। परमाणु वारहेड जडित उक्त उपग्रहको प्रयोग पृथ्वीको कक्षमा रहेका सञ्चार तथा निगरानी उपग्रहहरूलाई नष्ट गर्नका लागि हुन सक्ने आशङ्का गरिएको छ। जर्मन चान्सलर मर्जले यस्ता विवरणहरू नयाँ नभए पनि यसले रूस तनाव बढाउन कुन हदसम्म जान सक्छ भन्ने देखाउने टिप्पणी गर्नुभएको छ।
यता, जर्मन सरकारका प्रवक्ताले यस विषयलाई अत्यन्त गम्भीरताका साथ लिइएको बताए पनि मस्कोले भने उक्त दाबीलाई अस्वीकार गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अज्ञात स्रोतका आधारमा आएका यस्ता अपुष्ट समाचारलाई गम्भीरतापूर्वक लिन आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ।
यसैबीच, युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का प्रमुख जोसेफ एशब्याकरले अन्तरिक्षमा परमाणु हतियारको सम्भावित उपस्थितिलाई ‘सबैभन्दा भयानक अवस्था’ को संज्ञा दिनुभएको छ। अन्तरिक्षको कक्षमा परमाणु विस्फोट भएमा त्यसको असर कुनै एक लक्ष्यमा मात्र सीमित नरही पृथ्वीको कक्षमा रहेका अन्य थुप्रै उपग्रहहरूमा समेत विनाशकारी क्षति पुग्ने विज्ञहरूको चेतावनी छ।





