विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज रेशिथाङस्थित खेल गाउँमा आयोजित चौथो एनटीपीसी राष्ट्रिय वरीयता आर्चरी प्रतियोगिता २०२६ को दोस्रो दिनको कार्यक्रममा सहभागी हुनुभयो। प्रतियोगिताअन्तर्गत आज वरिष्ठ रिकर्भ र कम्पाउन्ड विधाका व्यक्तिगत प्रतिस्पर्धा तथा पदक खेलहरू सम्पन्न भएका छन्।
भारतीय आर्चरी सङ्घले सिक्किम आर्चरी सङ्घको सहकार्यमा आयोजना गरेको उक्त प्रतियोगिता २१ देखि ३० नोभेम्बरसम्म गान्तोकमा सञ्चालन भइरहेको छ। देशभरिका खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगितामा सिनियर, जुनियर तथा सब–जुनियर विधामा प्रतिस्पर्धा भइरहेको छ। २२ नोभेम्बरमा छनोट चरण सम्पन्न भएपछि आज वरिष्ठ पुरुष तथा महिला रिकर्भ र कम्पाउन्ड विधाका व्यक्तिगत नकआउट चरण तथा पदक प्रतिस्पर्धाहरू भएका हुन्।

वरिष्ठ रिकर्भ पुरुष विधामा सर्भिसेस स्पोर्ट्स कन्ट्रोल बोर्डका धीरज बोम्मादेवरा प्रथम, पेट्रोलियम स्पोर्ट्स कन्ट्रोल बोर्डका अतनु दास द्वितीय तथा सिक्किमका तरुणदीप राई तृतीय हुनुभयो। त्यस्तै, वरिष्ठ रिकर्भ महिला विधामा गुजरातकी भागोरा भार्गवी वर्गिशकुमारले प्रथम स्थान हासिल गर्दा पेट्रोलियम स्पोर्ट्स कन्ट्रोल बोर्डकी दीपिका कुमारी द्वितीय तथा झारखण्डकी अङ्किता भक्त तृतीय बन्नुभयो।
यसैगरी, वरिष्ठ कम्पाउन्ड पुरुष विधामा दिल्लीका प्रियांश प्रथम, अखिल भारतीय पुलिस खेलकुद नियन्त्रण बोर्डका रजत चौहान द्वितीय र दिल्लीकै अभिषेक वर्मा तृतीय हुनुभयो। वरिष्ठ कम्पाउन्ड महिला विधातर्फ दिल्लीकी कुमुद सैनी प्रथम, महाराष्ट्रकी पूर्वा बोकाडे द्वितीय तथा उत्तर प्रदेशकी सान्दिया तृतीय बन्न सफल हुनुभयो।
समापन अवसरमा मुख्यमन्त्री तामाङले विजेता खेलाडीहरूलाई परम्परागत खादासहित स्मृतिचिह्न प्रदान गरी सम्मान गर्नुभयो। मुख्यमन्त्रीको उपस्थितिले राज्यमा खेलकुद गतिविधि तथा आर्चरीको प्रवर्द्धनलाई दिइएको महत्त्वलाई प्रतिबिम्बित गरेको छ। राष्ट्रियस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा महत्त्वपूर्ण वरीयता अङ्क हासिल गर्ने अवसर प्रदान गरेको यस प्रतियोगिताअन्तर्गत जुनियर तथा सब–जुनियर विधाका बाँकी प्रतिस्पर्धाहरू आगामी दिनमा रेशिथाङस्थित खेल गाउँमै सञ्चालन हुने जनाइएको छ।





