एशिया पावर इन्डेक्स २०२६: भारत तेस्रो शक्तिशाली राष्ट्र, मोदी दोस्रो प्रभावशाली नेता

IMG_a02d505a-5c38-4151-99b7-1064ac88fa43

​क्यानबेरा: अष्ट्रेलियाली थिंक ट्याङ्क ‘लोवी इन्स्टिच्युट’ ले सार्वजनिक गरेको सन् २०२६ को ‘एशिया पावर इन्डेक्स’ मा भारत तेस्रो सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा कायमै रहेको छ। रुस र जापानलाई पछि पार्दै भारतले तेस्रो स्थानमा आफ्नो पकड अझ मजबुत बनाएको हो।
​सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२६ मा भारतको समग्र शक्ति सूचकाङ्क (पावर स्कोर) ०.५ अङ्कले सुधार भई ४०.५ पुगेको छ। गत वर्ष भारतको स्कोर ४० रहेको थियो। सूचीमा अमेरिका र चीन क्रमशः पहिलो र दोस्रो स्थानमा यथावत् रहे पनि दुई महाशक्तिबीचको अन्तर भने निकै साँघुरिएको छ।
​चीन र अमेरिकाबीचको दूरी घट्दो
इन्डेक्समा अमेरिका ७८.९ अङ्कका साथ शीर्ष स्थानमा छ भने चीन ७३.६ अङ्कका साथ दोस्रो स्थानमा छ। सन् २०२५ मा अमेरिकाको स्कोर ८०.४ र चीनको ७३.७ थियो। अहिले अमेरिका र चीनबीच मात्र ५.३ अङ्कको अन्तर छ, जुन सन् २०१८ मा यो इन्डेक्स सुरु भएयताकै सबैभन्दा कम हो। त्यसैगरी, जापान ३८.६ अङ्कका साथ चौथो र रुस ३२.२ अङ्कका साथ पाँचौँ स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेको चीनको कुल शक्ति भारतको तुलनामा ८० प्रतिशतले बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
​क्षेत्रीय प्रभाव र मोदीको नेतृत्व
आर्थिक क्षमतामा केही गिरावट देखिए पनि एशियाली क्षेत्रमा भारतको कूटनीतिक प्रभाव भने बढेको प्रतिवेदनले औँल्याएको छ। विभिन्न मापदण्डअन्तर्गत भारतले कूटनीतिक प्रभावमा ७०.३, भविष्यका स्रोतसाधन (फ्युचर रिसोर्सेज) मा ५६.२, सांस्कृतिक प्रभावमा ४३.८ र रक्षा सञ्जालमा १८.६ अङ्क प्राप्त गरेको छ।
​यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्षेत्रीय नेतृत्वको मूल्याङ्कनमा तीन स्थान फड्को मार्दै एशियाको दोस्रो सबैभन्दा प्रभावशाली नेता बनेका छन्। यस सूचीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ मात्र मोदीभन्दा अगाडि छन्। लोवी इन्स्टिच्युटले एशिया-प्रशान्त क्षेत्रका २७ देश तथा भूभागको ८ वटा विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी यो वार्षिक प्रतिवेदन तयार पारेको हो।

About Author

Advertisement