गान्तोक: गान्तोक जिल्लाका ज्येष्ठ नागरिकहरूको आँखाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया भारतको सिलगढीस्थित ग्रेटर लायन्स आँखा अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको छ।
यसअघि गत १६ नोभेम्बरका दिन गान्तोकको जीएमसी हल र १७ नोभेम्बरका दिन खाम्दोङ खण्ड प्रशासनिक केन्द्र (बीएसी) मा निःशुल्क मोतियाबिन्दु परीक्षण शिविर आयोजना गरिएको थियो। सोही शिविरको निरन्तरतास्वरूप परीक्षणका क्रममा शल्यक्रियाका लागि छनोट भएका ज्येष्ठ नागरिकहरूलाई अस्पताल लगिएको थियो।
ग्रेटर लायन्स आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समर्पित टोलीले गत २० र २१ नोभेम्बरमा शल्यक्रिया सम्पन्न गरेको हो। सम्पूर्ण उपचार प्रक्रियाका क्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र सहजतालाई ध्यानमा राख्दै विशेष चिकित्सकीय हेरचाह र आवश्यक सावधानी अपनाइएको थियो।
ज्येष्ठ नागरिकहरूको कल्याण, सम्मान र जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले गान्तोक जिल्लाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागद्वारा ‘अटल वयो अभ्युदय योजना’ (एभीवाईएवाई) अन्तर्गत यो पहल गरिएको हो। यस कार्यक्रमले उमेरका कारण हुने दृष्टिविहीनताको समस्या समाधान गरी ज्येष्ठ नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन मद्दत गरेको विभागले जनाएको छ।

गान्तोक जिल्लाकी सामाजिक कल्याण अधिकारी मणिकला गुरुङको नेतृत्वमा सामाजिक कल्याण निरीक्षक रिक्जेल भोटिया र कार्यालय कर्मचारी निम फुटी लेप्चासहितको टोलीले कार्यक्रमको समग्र सहजीकरण गरेको थियो। टोलीले योग्य लाभार्थीहरूको पहिचान, अस्पताल तथा साझेदार संस्थाहरूसँगको समन्वय र यातायातलगायतका सम्पूर्ण व्यवस्थापकीय प्रबन्ध मिलाएर कार्यक्रमलाई सफल बनाएको हो।





